शैलेन्द्र रोकाया
बझाङ ,वैशाख २१ गते । देशमा भएको लकडाउनले कामकाज बन्द भए पछि करिब डेढ महिना जती डेरामै बसेका लाल बहादुर धामी आइतवार काममा आउनुभएको थियो । जयपृथ्वी नगरपालिकाबाट योजना परेको चैनपुर खुला मञ्चको मर्मतको काम उहाँले जिम्मा लिनुभएको थियो । मिस्त्री काम गर्ने उहाँ सोमवार देखी अरु कामदारलाई पनि बोलाएर काम सुचारु गर्ने सोचमा हुनुहुन्छ ।
मिस्त्री लाल बहादुर जस्तै अन्य मजदुर कामदारहरु पनि आ आफ्नो काम गर्ने टोलीसंग काममा हिड्न थालेका छन् । जिल्लामा हुने साना ठुलो योजनाको काम अवस्था हेरेर भौतिक दुरी कायम गर्दै काम काज सुचारु गर्ने भन्ने जिल्ला सुरक्षा समिति सहित सर्वदलिय बैठकबाट सहमती भएपछि बझाङमा पनि रोकिएका योजनाको निर्माणमा केहि सहजता गरेको छ । योजनाको काममा खुकुलो बनाए पछि सिमखेत सिकु, सरकारी भवन र्निमाणको काम चैनपुर सडक खण्डको काम चैनपुर साना शहरी खानेपानी योजनाको लगाएत अन्य योजनाहरुको काम पनि हुन थालेको छ । सेती नदीमा निर्माणधिन पक्की पुल र बहु बर्षिय चैनपुर बचाउ तटबन्दनको काम पनि सुचारु गरिएको छ । योजनाहरुको काम सुचारु गर्ने भने पछि घर गएका मजदुर सवारी चालक मिस्ती सहित अन्य कर्मचारीहरु पनि योजना स्थलमा आउन थालेका छन् ।
लामो समय लकडाउनले ठुला योजनाहरुको काम प्रभावित र त्यहाँ काम गर्ने मजदुरहरुलाई पनि समस्या भएको थियो । निर्माण व्यवसायी दल बहादुर विष्टले भन्नुभयो, “योजना र्निमाणको काममा केहि सहज गरेपछि रोकिएको काम सुचारु गरिएको छ ।
यस्ता योजनाहरुको काम सुचारु हुँदा अहिले कामगरि खाने मजदुरहरु लाइ पनि सहज भएको छ ।” जिल्लामा विभिन्न योजनाहरुमा काम गर्ने झण्डै ५ सय जना मजदुरहरु लकडाउनको अवधी भर जिल्लामै रहेका निर्माण व्यवसायीहरु वताउनु हुन्छ । चैनपुर बजारमा निर्माण हुदै गरेका अन्य व्यक्तिकाहरुका घरको काम पनि सामाजिक दुरी कायम गर्दै चार चार जना मान्छे काम गर्ने गरि काम गर्न दिएको छ ।
योजनाहरुको काममा सवारी सधानको उपयोगको लागी जिल्ला प्रशासनले गाडीको पास दिएर काम गर्ने गराएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले वताउनुभयो । सिमेन्ट सरिया मौजात भई कामदार पनि जिल्लामै भएकाहरुलाई काम सुचारु गर्ने भनेको प्रजिअले वताउनुभयो ।
सिचाई डिभिजन, पूर्वाधार कार्यालय , सडक कार्यालयले पनि योजना परेका उपभोक्ताहरुलाई बोलाएर सम्झौता गर्ने काम गरी रहेको छ । जिल्लामा भारतबाट आएकाहरुलाई सवै क्यारेन्टाइममा राखेको हुँदा र स्वास्थ्य परिक्षण गरेका कसैमा कोरना नदेखिएको हुँदा बझाड सुरक्षित हुन सक्ने भन्दै ढुक्क छन् । लामो समय लकडाउनले जनजिवन अस्तव्यस्त भएको हँुदा सजग र होसियारी पुर्वक कामकाज गर्ने , अस्पताल आउन जान दिने , खाद्यान्न खरिद गर्ने काममा पनि सहज गरेको छ ।