जनार्जन खत्री
सर्लाही, बैशाख २२ गते । सर्लाहीको कविलासीमा हावाहुरीले घरको छानो उडाएर किच्दा एक युवकको मृत्यु भएको छ । सोमवार दिउँसो आएको हावाहुरीले आफ्नै घरको जस्तापाताको छानो उडाएर किँच्दा कविलासी नगरपालिका–३, बिनग्राका सोनेलाल राय यादवका छोरा १९ वर्षीय राजेश राय यादवको मृत्यु भएको हो ।
भर्खरै हालेको जस्तापाताको छानो ठूलो हावाहुरी आएर उडाउन खोजेपछि यादवका बाबु छोरा मिलेर छानो समाएर बसेका थिए । त्यसक्रममा हावाहुरीले छानोसँगै युवकलाई समेत उडाएर झण्डै ४० फिट पर पु¥याएको प्रहरीले जनाएको छ ।
जस्तापाताले किच्दा पाखुरा, निधार र गालामा गहिरो चोट लागेको युवकको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम यादवले जानकारी दिनुभयो । घटनामा राजेशका बाबु ५० वर्षीय सोनेलाल सामान्य घाईते हुनु भएको छ ।
सोमवार दिउँसो जिल्लाको दक्षिणी भेगमा केहीबेर ठूलो हावाहुरीसहित पानी परेको थियो । हावाहुरीले दर्जनौं कच्ची घर तथा गोठका छानो उडाउनुका साथै अन्नबालीमा क्षति गरेको स्थानीय वासिन्दाले बताएका छन् । ठूल्ठूला रुख विरुवा जरादेखि नै उखाल्ने गरी हावाहुरी चलेको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर रायले बताउनुभयो ।
यसैबीच सर्लाहीको उत्तरी चुरेभेगमा पर्ने हरिवन नगरपालिका–१, कैलाशपुरीमा घाँस झार्ने क्रममा रुखको हाँगामा च्यापिएर सोमवार बिहान एक जनाको मृत्यु भएको छ । पाखो भीरमा हलुण्डेको रुखमा लहरा परेर माथिसम्म गएको घाँस झार्न खोज्दा हाँगामा च्यापिएर हरिवन नगरपालिका–८, का ४२ वर्षीय नारायणदास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँससँगै अचानक तल खस्दा हाँगामा परेर च्यापिएका श्रेष्ठलाई तत्कालै उपचारका लागि नमूना अस्पताल ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । श्रेष्ठसँगै घाँस लिन जङ्गल जानु भएकी श्रीमती भने सकुसल रहनु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।