म्याग्दी, वैशाख २३ गते । हिमाली जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि सो रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु भएको छ । बेनी नगरपालिकाले लामखुट्टेको बासस्थान हुने पानी जमेका टायर, झाडी, खाल्डाखुल्डी नष्ट गर्न शुरु गरेको हो ।
डेङ्गुको जोखिम बढेपछि बेनी बजारका विभिन्न ठाउँमा लामखुट्टेको बासस्थान नष्ट गर्नुका साथै सो रोगबाट बच्ने उपायका बारेमा जनचेतनामूलक कार्यक्रम शुरु गरिएको बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।
पछिल्लो छ दिनयता ग्रामीण क्षेत्रबाट आएका तीन बिरामीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु भेटिएको अस्पतालका मेडिकल को–अर्डिनेटर डा नवराज बस्ताकोटीले बताउनुभयो । वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर भई बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार यसअघि वैशाख ९ गते मङ्गला–५ अर्मनका १७ वर्षीय पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । वैशाख १९ र २१ गते भर्ना भएका बिरामीको बेनी अस्पतालमा उपचार भइरहेको छ । अरु निको भएर घर फर्किएका छन् । डेङ्गु भेटिएका बिरामी गाउँमै खेतीकिसानी र घाँस दाउरा गर्ने व्यक्ति हुन् ।
म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने चिकित्सकहरुको विश्लेषण छ । गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । क्लिनिकमा परीक्षण गराएका केही बिरामीले पोखरा गएर उपचार गरेका थिए । बेनी बजारको गणेशटोल, मङ्गलाघाट, बसपार्क, पारीबेनी र भिरमुनिलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ । नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो ।
पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेशी दुख्ने डेङ्गुको मुख्य लक्षण हुन् । टिन, रङका खाली डब्बा, टायरट्युब, खाली ड्रममा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । बर्खा शुरु नहँुदै दैनिकजसो डेङ्गुका बिरामी आउन थालेपछि स्वास्थ्य कार्यालय र स्थानीय तहमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
फरार सूचीमा रहेका वडाध्यक्षद्वारा आत्मसर्मपण
प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसर्मपण गर्नुभएको छ । गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद गरेको थियो । हात हतियार तथा खरखजना मुद्दा चलाइएपछि शेरपुजा फरार हुनुभएको थियो । अनुसन्धानमा सहयोग गर्न र कानूनीरूपले मुद्दाको प्रतिवाद गर्न शेरपुजा आफैँ आइतबार प्रहरीकहाँ पुग्नुभएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो ।
उहाँका अनुसार प्रशासनबाट निजी हतियार राख्ने अनुमति नलिएका शेरपुजाको घरबाट बरामद भएको गोली प्रयोगशालामा परीक्षण गर्दा बाह्र बोरको भएको पुष्टि भएको छ । “उहाँ आफैँ अनुसन्धानमा सघाउने हिसाबले आउनुभएको हो”, प्रनाउ कुँवरले बताउनुभयो । चैत २९ गते बिहान ‘नेकपा गापा अध्यक्ष दीपक कार्की बिखर्ची मित्रले झैँ सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछु’ भनेर फेसबुकमा स्टाटस राखेका शेरपुजाले केही समयमा हटाउनुभएको थियो ।
शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उममेद्वार भएर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँलाई काँग्रेसका नेताहरुले प्रहरी कार्यालयमा ल्याएर आएका थिए । स्थानीय चुनावअघि काँग्रेसमा प्रवेश गर्नुभएका शेरपुजा काँग्रेसको रघुगङ्गा पालिका कार्यसमितिको सचिव हुनुहुन्छ । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उहाँ मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आबद्ध हुनुहुन्थ्यो ।
अवैध हातहतियार वा गोलीगठ्ठा राखेकाले शेरपुजाविरुद्ध अदालतमा हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइएको थियो । फौजदारी अभियोग लागेपछि उहाँको पद निलम्बन हुने कानूनी व्यवस्था छ । अदालतले उहाँलाई दोषी ठहर गरे र पुनरावेदनमा पनि असफल भएमा वडाध्यक्ष पद गुम्नेछ ।