देवराम प्रसाद यादव
सप्तरी बैशाख २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएका विज्ञसहितको प्राविधिक स्वास्थ्यकर्मीहरुको टोलीले सप्तरीमा थ्रोट स्वाब संकलन गरेका सवै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
टोलीले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा कोरोना संक्रमित भेटिएका जमातीहरुको ‘ट्राभल हिस्ट्री’जोडिएका सप्तरीको विभिन्न स्थानमा बसोवास गर्ने व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणकोलागि पठाएको थियो । सोमवारसम्म ३ सय १८ जनाकै पिसिआर रिपोर्ट आइसकेको छ भने सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जमातीहरुको ‘ट्राभल हिस्ट्री’अनुसार गत फागुन ३, ४ र ५ गते वोदेबर्साइन नगरपालिका–५ जाँजरमा आयोजित इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा) मा सहभागी हुन आएका उनीहरु फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ स्थित सिवाई मस्जिद पुगेका थिए । त्यहाँ ५ दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेका थिए ।
त्यसअघि भने फागुन २२, २३ र २४ गते सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुर, वडा नम्बर ४ वलार्दह र वडा नम्बर २ सिद्धिपुर तथा कञ्चनरुप नगरपालिकास्थित बरमझिया मस्जिदमा करिब एक साता वसेर उदयपुरतर्फ लागेको जमातीहरुको ‘ट्राभल हिस्ट्री’रहेको छ । ती स्थानमा बसोवास गर्ने तथा जमातीहरुसँग जोडिएका व्यक्तिहरुमाथि आशंका गरी कोरोना परीक्षणकोलागि थ्रोट स्वाब संकलन गरिएको थियो ।
यता, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले पनि कोरोनाको आशंका गरी ५३ जनाको थ्रोट स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षणकोलागि पठाएको छ । जसमा सोमवारसम्म ५० जनाको रिपोर्ट पनि आइसकेको छ । ५० जनाकै पिसीआर रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ ।
राजविराजको चौबाटो दुर्गन्धित
सप्तरीको राजविराज नगरपालिकामा वन्दाबन्दीको बेला पनि जनप्रतिनिधिले सरसफाइमा ध्यान नदिँदा दुर्गन्ध फैलिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति यतिवेला नगर क्षेत्रलाई स्वच्छ र सफा राख्न जनप्रतिनिधिले सरसफाईमा गम्भिर भएर कार्य गर्नुपर्ने हो । तर, जनप्रतिनिधिको गैरजिम्मेवारीले सरसफाईको नाममा पनि नगरको मुटु नै दुर्ग्न्धित बनेपछि नगरवासी आक्रोशित बनेका छन ।
वडा नम्वर ७ स्थित नगरपालिका कार्यालयको पछाडी नै नाला सफा गरेर चौबाटोमै थुपारेका कारण सो क्षेत्र नै दुर्गन्धित बनेपछि उनीहरु आक्रोशित बनेका हुन् । ‘यो पनि जिम्मेवारीपूर्ण काम हो त?, नालाबाट फोहोर निकाल्न लगाएर सडकमै थुपारेका छन’ बिन्देश्वर साहले भन्नुभयो –‘यहाँका केही नगरवासीको बदमासी पनि उति नै छ, केहीले नालामै शौचालयको फोहोर निकासा गरेको देखिन्छ । र जनप्रतिनिधिले त्यहि फोहोर नालाबाट निकाल्न लगाएर सडकमै थुपारेपछि अहिले नगरको मुटु नै दुर्ग्न्धित बनेको छ ।’
यस्तो कार्यले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले जनप्रतिनिधिले गम्भिर भएर अघि बढ्नुपर्ने उहाँले बताउनु भयो । नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले कोरोना भाइरस विश्व महामारी बनेकोले सर्वसाधरणहरु त्रसित रहेको बेला मानव स्वास्थ्यसँग जोडिएका विषयहरुमा जनप्रतिनिधिलाई गम्भिर हुनुपर्नेमा जोड दिनु भयो । उता, वडा नम्वर ७ का वडाध्यक्ष मागीलाल नाइले सो स्थानमा नाला जाम भएपछि सफा गराउने क्रममा फोहोर निकाल्न लगाएको स्वीकार गर्नु भयो । ‘
राजविराजमा लाखौंको चोरी
सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–२ राजदेवी पोखरी महाड टोल स्थित राजकान्त झाको घरमा लाखौको चोरी भएको छ ।
घरको ढोका फुटाएर दुई थान ल्यापटप, सुन ८ तोला, चाँदी २५ तोला र एक लाख रुपैयाँ नगद सहित सात लाख बरावरको चोरी भएको जनाईएको छ । घरमा कोही नभएको बेला मोका छोपेर घरमा रहेको दुई वटा दराजको लक तोडेर चोरी भएको घरमूली रिंकु झाले जानकारी दिएका छन् । आफु गजेन्द्रनारायण सिंह अस्पतालमा राती डियुटी गएको बेला चोरी भएको उहाँले बताईन् ।
यता चोरी भएको ठाउँ राजदेवी अस्थायी प्रहरी बिटदेखि करिब तीन सय मिटरको दूरीमा छ ।