logo
२०८१ मंसिर १२ बुधवार



घाइते सालकलाई स्थानीयले उद्धार गरेर वन कार्यालयमा बुझाए

खुला |


घाइते सालकलाई स्थानीयले उद्धार गरेर वन कार्यालयमा बुझाए


मुरारी अधिकारी
धादिङ, बैशाख २४ गते । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा दुर्लभ वन्यजन्तु सालक फेला परेको छ । अज्ञात समूहले जंगलमा थापेको पासोमा परी घाइते अवस्थामा छटपटाउँदै बस्तीमा पसेको सालकलाई स्थानीयले समातेर डिभिजन वन कार्यालय धादिङलाई बुझाएका छन् ।

सोमवार राति ११ बजेतिर सालक बस्तीमा पसेको स्थानीय सञ्जु श्रेष्ठले बताउनुभयो । बिरामी कुरेर बसेका युवाहरुले छटपटाउँदै आएको सालकलाई समातेर मंगलवार बुझाएका हुन् । घाइते सालकको गाउँपालिकाको पशुसेवा शाखामा सामान्य उपचार गराई थप उपचारको लागि धादिङबेसी ल्याएको डिभिजन वन कार्यालय धादिङका अधिकृत एकलाल नेपालीले जानकारी दिनुभयो । थप उपचारपछि सालकलाई सोही स्थानको जंगलमा छाडिने पनि नेपालीले बताउनुभयो ।

उपचारका लागि धादिङबेसी ल्याइएको सालकको आहारा व्यवस्थापन गर्न भने समस्या छ । जंगलमा कमिला, धमिरा लगायतका किरा खाने सालकलाई उपचार अवधीमा खुवाउने कुराको समस्या हुने डिभिजन वन कार्यालय धादिङका प्रमुख जीवनाथ पौडेलले बताउनुभयो । जतिसक्दो चाँडो सालकलाई जंगलमा छाडिने पनि प्रमुख पौडेल बताउनुहुन्छ ।
सल्यानटारमा फेला परेको सालक भारतीयमूलको सालक भएको अनुमान विज्ञहरुले गरेका छन् । स्थानीयले पनि जंगलमा जोडी सालक देखेको बताएका छन् । विश्वमै दुर्लभ मानिएको सालक धादिङ लगायत नेपालका केही भागमा पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?