देवराम प्रसाद यादव
सप्तरी बैशाख २४ गते । सप्तरीको अग्निसाईर कृष्णासवरान गाउँपालिका वडा नम्बर २ स्थित रामटोलमा जङ्गली हात्तीको एक समुहले चारवटा घरमा तोडफोड गरेको छ ।
तीनवटाको समुहमा मध्यरातमा आएको जङ्गली हात्ती गाउँ प्रवेश गरि श्याम कुमार राम, बिरेन्द्र राम, नारायण राम र लक्षमि देवी रामको घर तोडफोड गरि लाखौंको क्षति गरेको हो । पुर्वपश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अबस्थित रामटोलमा मध्यरातमा पुगेको हात्तीको समुहले धान, गहुँ, चामल, दाल लगायतका खाद्यान्न र घर सहित गरि ५ लाख बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिएका छन् ।
लकडाउनले समस्या भएको समयमा हात्ती आतंककले थप जिवनयापन कष्टकर भएको पीडितहरुले बताएका छन् । ‘लुकिछिपी बनिबुतो गरेर जम्मा गरेको खानेकुरा समेत हात्तीले सबै सखाप पारिदियो’ पीडित बिरेन्द्र रामले भन्नु भयो ‘खान त समस्य छँदै थियो, अब आवासको पनि चिन्ता थपियो, कमाउन जाउँ भने कता जानू काम पाईदैन, भएको धान, चामल, गहुँ पनि एकैरातमा सकिदियो ।’ चुलो बाल्न पनि समस्या भयो पीडित श्याम कुमार रामले दुखेसो सुनाउनु भयो ।
अग्निसाईर कृष्णासवरनवासीको बर्षेनी हात्तीले ठूलो जनधनको क्षति गर्दैआएको छ । आक्रमणबाट दर्जनौं सर्वसाधारणहरु घाईते तथा अङ्गभङ्ग भएका छन् । ‘किसानले लगाएको बालीनाली खेतैमा हात्ती, बाँदर लगायतका जंगली जनावरले नष्ट गरिदिन्छ, कुनै बेला हात्तीको सिकार हुने भयत्रासले रातभर जाग्राम बस्न बाध्य भएको पीडितहरु बताउँछन् ।
यसैगरी सोही हात्तीको समुहले गाउँपालिकाको चाँदनी चौकमा दस कठ्ठामा लगाएको मकै बाली नष्ट गरेको छ । सडकको दक्षिणी क्षेत्रमा लगाएको सुत्ला चेप्दै गरेको मकै हात्तीले खानुको साथै कुल्चेर नष्ट गरेको कृषक ईश्वरलाल चौधरीले बताए । हात्ती धपाउन गाउँमा ठूलो संख्यामा भिडभाड हुने गरेको छ ।
हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरु हात्ती आतंकको जोखिमबाट सुरक्षित रहन साँझ पर्न साथ सयौंको संख्यामा भेला भई तयारी अवस्थामा रहने गरेका छन् । एक गाउँमा हात्ती आउनसाथ अर्को ठाउँबाट ट्रयाक्टर, मोटरसाइकल लगायतका सवारीसाधन प्रयोग गरि मानिसहरुको ठूलो भिड जम्मा गरि हात्ती धपाउन उनीहरुको दैनिकी नै बन्दैगएको छ ।
हात्तीले वर्षेनी कठिनाई हुँदा समेत नियन्त्रणतर्फ कुनै पनि निकायले चासो नदिएको स्थानीयबासीको गुनासो छ । स्थानीयका अनुसार हात्ती नजिकैको रुपनी गाउँपालिकाको जङ्गलतर्फ लागेको छ । साँझ पार्नसाथ फेरि गाउँमा प्रवेश गरि दुःख दिने त्रास उनीहरुमा बढेको छ ।