भोटराज राई
उदयपुर, वैशाख २४ गते । देशकै सबैभन्दा बढि कोरोना संक्रमित २८ जना भेटिएको उदयपुरको भुल्केमा आज ३३४ जनाको स्वाब नमुना संकलन भएको छ ।
लक गरिएको संक्रमित क्षेत्रलाई क्रमिकरुपले खुकुलो पार्दै जाने प्रक्रिया अन्तर्गत पुनः परिक्षणको कार्य थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएको प्राविधिक स्वास्थ्यकर्मीटोलीले संक्रमित स्थलका मुस्लिम समुदायका २ सय ३८ जना र अन्य समुनायका ९६ जनाको स्वाव नमुना संकलन गरेको हो । मुस्लिम समुदायका अधिकांशको पुन परिक्षणका लागि स्वाव नमुना संकलन भएको हो । कुल ३ सय ३४ जनाको स्वाव नमुना लिइएकोमा मुस्लिम समुदायमा १ सय ५ पुरुष र १ सय ३३ महिला छन् भने अन्य समुदाय रशमा ७० पुरुष र २६ जना महिला रहेका छन् ।
संकलित स्वाव नमुना परिक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल र धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशाला मध्ये एक ठाउँमा दुबै ठाउँ बाढेर पठाउने बारे बेलुकासम्ममा निर्कोल हुने जनस्वास्थ्यले जनाएको छ ।
स्वाव नमुनाको रिपोर्टको आधारमा संक्रमित क्षेत्रको १८ दिनदेखिको लगातारको लकलाई खुल्ला गर्दै लगिने प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताउनुभयो । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के देशकै सबैभन्दा बढि प्रभावित स्थान हुनुका साथै लकमा रहेकाले त्यहाँको जनजीवनलाई स्थानीय सरकार र प्रशासनले विशेष ध्यानमा राखेको छ । त्यहाँको सुरक्षा व्यवस्था प्रशासनले हेरेको छ भने खाद्यन्न लगायतका अत्यावश्यक कुराहरुको व्यवस्था त्रियुगा नगरपालिकाले हरेको छ । नगरपालिका मात्र नभएर सिंगो देशकै ध्यानकेन्द्रित भएको भुल्के क्षेत्रको जनजीवन र कोरोना संक्रमण फैलन नदिन विशेष सतर्कता सरकारले त्यहाँको स्थितिलाई सामान्य घोषणा नगरेसम्म जारी रहने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो ।
संक्रमित क्षेत्रका स्थानीय वासिन्दाहरुले कम्तिमा पनि घरको एकजनाको स्वाव परिक्षणको माग गर्दै आएका छन् । स्थानीयहरुको पनि परिक्षणको कार्य अगाडी बढेकोमा खुसी व्यक्त गर्दै उनीहरुले बाँकी सबैको परिक्षणको माग गरेका छन् । अव, १ सय ५० जना स्थानीयको स्वाव परिक्षण बाँकी रहेको स्थानीयबासी एवम् पत्रकार यदु ढकालले बताउनुभयो ।