चित्र मिजार
सिन्धुपाल्चोक, बैशाख २५ गते । कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुनबाट बच्न हात धुनको लागि राखिएको साबुन र पानी अहिले सिन्धुपाल्चोकको कुनै पनि स्थानमा देख्न छोडेको छ ।
लकडाउनको शुरुवाती समयमा सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहका बिभिन्न बजार र गाउँगाउँमा देखिन्थे । तर अहिले कुनै पनि स्थानमा साबुन र पानी देखिदैंन । सदरमुकाम चौतारा, बाह्बिसे बजार, खाडीचौर बजार, मेलम्ची बजार, जलबिरे बजार लगायतका मुख्य बजारको चोक नै पिच्छे साबुन र पानी देखिन्थे ।
गाउँ प्रबेश गर्ने प्रत्येक नाकामा साबुन र पानी देखिन्थ्यो । त्यहाँ आउजाउ गर्नेले हात धोए मात्रै प्रबेश दिने गरिन्थ्यो । तर अहिले बजार र गाउँ प्रबेश गर्ने कुनै पनि नाकामा साबुन र पानी देखिदैंन् । साथै अति आवश्यक पसल र बिभिन्न कार्यालयमा पनि साबुन, पानी र स्यानिटाइजर देखिन्थे । अहिले उक्त ठाँउहरुमा पनि देखिन छाडेको छ ।
लकडाउन भइरहेको समयमा साबुन र पानी देखिन छाड्नु लापरवाही भएको जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले बताउनु भयो । सबै स्थानीय तहलाई आपनो क्षेत्रभित्र साबुन र पानी राखेर हात धुने ब्यबस्था गर्न पनि उहाँले पुन आग्रह गर्नु भएको छ । देखासिकी जस्तो नगरी नियमित रुपमा साबुन र पानीले हात धुने प्रबन्ध गर्न मिलाउन जिससले आग्रह गरिएको छ ।