धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख २५ गते । सप्तरीको शम्भुनाथ नगरपालिका २ भलुवाहीमा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको बिहीबार मृत्यु भएको छ । राती करिब एक बजेको समयमा आएको जङ्गली हात्तीले आक्रमण गर्दा स्थानीय ३८ वर्षीया जानकी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरमा हाती आएको थाहा पाएपछि श्रीमान् पेसल मगरसँग घरबाट बाहिर भाग्ने क्रममा हात्तीको आक्रमणबाट घाइते मगरको उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको थियो । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
मृतक जानकीको तीन छोरी र १४ वर्षका एक छोरा छन् । आमाको मृत्यु भएपछि ती छोराछोरीको अवस्थामा बिचल्ली हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीभित्र स्ट्यान्डवाय ड्युटीमा खटिएका एक प्रहरी हबल्दारको बिहीबार बिहान मृत्यु भएको छ । यसअघि जिल्लामै एक जना सशस्त्र प्रहरीका असईको पनि ड्यूटी गरिरहेकै अवस्थामा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उदयपुर जिल्ला निवासी ३७ वर्षीय मगरको कार्यालयभित्रै स्ट्यान्डवाइ ड्युटी गरिरहेको बेला एक्कासी मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मगरको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने उहाँको कथन छ ।
यसअघि गत सोमबार भारतसँग सीमा जोडिएको जिल्लाको बोदे बर्साइन नगरपालिका ९ देउरीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको थियो ।
सप्तरीमा छुटाछुट्टै घटनामा परी दुई जनाको बिहीबार मृत्यु भएको छ ।
पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासावरण गाउँपालिका २ सितापुरमा बिहीबार बिहान ५ः५० बजेको समयमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सो लोकराजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको गरेको ना.३ ख.६१२६ नम्बरको रोकी राखेको ट्रकमा सोही दिशातर्फ जादै गरेको स. ८ प. ५६२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोकिदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ बस्ने ३६ वर्षीय तरुण सरदार र ३५ वर्षीय बिक्रम सरदारको टाउको लगायत शरीरको बिभिन्न भागमा गम्भीर चोट लाग्दा उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिह अस्पताल ल्याउने क्रममा बिक्रम सरदारको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी बिहीबारै ११ बजेको समयमा राजविराज नगरपालिका २ शिव टोल बस्ने संदिब मण्डलको श्रीमती २५ वर्षीया बर्षा देवी मण्डलले आफ्नै घरको सुत्ने कोठाको सिलिङ पंखामा साडीको पासो लगाई झुण्डिएर मरेका छन । झुण्डिएको अवस्थामा उनको श्रीमानले देखेपछि पासो काटेर उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको । दुबै घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।