चन्द्र पन्दाक
ताप्लेजुङ, बैशाख २५ गते । ताप्लेजुङमा हिजोआज दिनहुँजसो सेवाग्राही खाद्य संस्थान धाउँदै रित्तै फर्कने गरेका छन् । जिल्लास्थित नेपाल खाद्य संस्थानले चामल बिक्री गर्न छोडेपछि सेवाग्राही संस्थानको कार्यालय पुग्दै रित्तै फर्किने गरेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनलाई सरकारले गरेको बन्दाबन्दीपछि चामलको खपत ह्वात्तै बढेकाले खाद्य संस्थानले चामलको बिक्री वितरण बन्द गरेको हो । बन्दाबन्दीको समयमा उपभोक्ता अर्थात सेवाग्राहीलाई सहुल्यत दिनेगरी संस्थानले साविकको मूल्यमा १० प्रतिशत छुटमा बिक्री गर्न थालेपछि सेवाग्राहीको अत्यधिक चाप बढेको थियो ।
सेवाग्राहीको चापसँगै संस्थानसँग मौज्दात रहेको चामल सकिएपछि डेढ साता अघिदेखि बिक्री गर्न बन्द गरिएको नेपाल खाद्य संस्थान ताप्लेजुङकी प्रमुख तुलमाया लोवाले जानकारी दिनुभयो । ताप्लेजुङमा कोटाभन्दा बढी चामलको खपत हुँदै आएको र यसवर्ष बन्दाबन्दीले गर्दा चामलको माग अझै बढेको जिल्ला संस्थान प्रमुख लोवाले बताउनुभयो । ताप्लेजुङका लागि एकहजार क्विन्टल चामलको कोटा रहेको र कोटाभन्दा चारसय क्विन्टल बढी चामल बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो ।
बन्दाबन्दी सुरु भएको गत चैत ११ गते यता संस्थानसँग मौज्दात रहेको ३२९ क्विन्टल चामल अघिल्लो साताको शुक्रबार सम्मामा सबै सकिएपछि बिक्री बन्द गरिएको थियो । चामल सकिएपछि जिल्ला खाद्य व्यवस्था समितिको तत्काल बैठक बसेर थप एकहजार क्विन्टल चामल माग गर्ने निर्णय गरिएको र सो निर्णयअनुसार विभाग समक्ष चामल माग गरेको लोवाले जानकारी दिनुभयो । जिल्लाबाट माग भएपछि गत साताको सोमबार नै ३५५ क्विन्टल चामल आए पनि सो चामल सर्बसाधारण सेवाग्राहीलाई बिक्री गरिएन ।
कोभिड–१९ को प्रभाव र अन्य कारणबाट खाद्यान्न सङ्कट आउनसक्ने भन्दै सर्वसाधारणलाई चामल बिक्री नगरिएको जिल्लास्थित संस्थान प्रमुख लोवाले बताउनुभयो । सम्भावित सङ्कटलाई दृष्टिगत गरी चालम बिक्री नगरिए पनि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा फुङ्लिङ नगरपालिका सहितका स्थानीय तहले भने चामल लगिरहेका लोवाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहहरुले आफ्नो क्षेत्रका विपन्न परिवारलाई राहतको रुपमा वितरण गर्न चामल लैजाने गरेका छन् ।
फुङ्लिङ नगरपालिकाले ११५ क्विन्टल, मिक्वाखोला गाउँपालिका–५ पापुङले २० क्विन्टल चामल लगेका संस्थान कार्यालयले जाएको छ । त्यस्तै मेरिङ्देन गाउँपालिकाले ५० र फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपले १५ क्विन्टल चामल लैजानेगरी सिफारिस आइसकेको कार्यालयले जानकारी दिएको छ ।
यता गत साताको आइतबारदेखि दिनहुँजसो सर्बसाधारण सेवाग्राही चामल किन्नलाई खाद्य संस्थान पुग्ने गरेका छन् । संस्थान पुगेर चामल नपाई रित्तै फर्कनुपर्दा केही सेवाग्राही आक्रोसित समेत हुने गरेका छन् । कतिपय दिउँजस्तो लाग्ने खालका सेवाग्राही आए पनि तत्काललाई चामल बिक्री नगर्न निर्देशन भएकाले उनीहरुलाई रित्तै फर्काउनुको विकल्प नभएको लोवाको भनाइ छ ।
उहाँले प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश तिमिल्सिनाको समेत पहलमा थप चामल आयात गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । जिल्लाबाट भएको पहलअनुसार केही दिनभित्रै २४० क्विन्टल जति चामल आउने सम्भावना नजिकिएको र सो चामल आएमा सर्बसाधारण उपभोक्तालाई पनि बिक्री गर्ने सोच आपूmले बनाएको जिल्ला संस्थान प्रमुख लोवाले बताउनुभयो । यतिबेला बन्दाबन्दीले रोजगारी गुमाएका र आर्थिक सङ्कटमा परेका सर्बसाधारणहरु बजारमाभन्दा प्रतिकेजी झण्डै १५ रुपियाँ सस्तो मूल्य पर्ने हुँदा संस्थानको चामल किन्नलाई जाने गरेका छन् ।