गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २७ गते । सञ्चार केन्द्र नेपालले कोरोनाको बेला जोखिम मोलेर समाचार संकलनमा खटिने सञ्चारकर्मी र रौतहटबासीलाई शुक्रबारबाट निःशुल्क दन्त सेवा प्रदान गरेको छ । ओम डेण्टल समाज होमको सहयोगमा दन्त सेवा सुरुवात गरेको हो ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दन्त सेवा परीक्षण स्टलको उद्घाटन गर्दै कोरोना भाइरस (कोभिड १९)को संन्त्रासबीच समाचार संकलनका लागि फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरुलाई निःशुल्क दन्त सेवा उपलब्ध गराउने कार्य सह्रानिय भएको बताउनुभयो । उहाँले कोरोनाबाट नेपाल कम संक्रमित हुनु सुखद भएको बताउदै भावी दिनमा संकट टार्नको लागि सबैले सचेतना अपनाउन आग्रह गर्नुभयो । कोरोना नियन्त्रणमा सरकारले चालेका कदमहरु प्रभावकारी भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने नेपालको भनाई थियो ।
ओम डेण्टल समाज होमका डा. सुवास घिमिरेले उपत्यकाका सबै सञ्चारकर्मीहरुको निःशुल्क दन्त परीक्षण गर्ने प्रतिवद्धता जनाउनुभयो । बिजुलीबजारमा रहेको सञ्चार केन्द्रको कार्यालयमा शुक्रबार करिब २४ जना पत्रकारहरुले दातको उपचार गराएका थिए ।
कार्यक्रममा सञ्चार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले उपत्यकामा खटिएका सम्पूर्ण सञ्चारकर्मीहरुलाई यो सेवा लिन आग्रह गर्दै लकडाउनमा दाँतको दुखाई भएमा सञ्चारकर्मीहरुको घरमै चिकित्सक परिचालन गर्न सकिने बताउनुभयो । सोही कार्यक्रममा नेता नेपालले रौतहट जिल्ला घर भई काठमाडौँमा बसोबास गर्ने ३५ परिवारलाई राहत प्रदान गर्नुभयो ।