logo
२०८१ मंसिर १२ बुधवार



बन्दाबन्दीले डुङ्गा नदी किनारमै थन्कियो

खुला |


बन्दाबन्दीले डुङ्गा नदी किनारमै थन्कियो


देवराम प्रसाद यादव
राजविराज, बैशाख २८ गते । बन्दाबन्दीका कारण डुङ्गा चलाउन नपाउँदा पुर्ख्याैली रुपमा सप्तकोशी नदीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ मुखियाटोलका १ सय ५० मुखिया परिवारलाई हातमुख जोर्न समस्या परेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति स्थानीय प्रशासनले डुङ्गामा ताल्चा चलाएपछि उनीहरूले सञ्चालन गर्दैआएको डुङ्गा किनारमै थन्किएको छ । मुखियाटोलका १ सय ५० मुखिया परिवार सप्तकोशी नदीमै आश्रित छन् ।
पुर्ख्याैली रुपमा माछा मारेरै उनीहरू आफ्ना परिवारको गुजारा चलाउँदै आएपनि यतिबेला बन्दाबन्दीका कारण डुङ्गा नदी किनारमै थन्किएपछि उनीहरुलाई हातमुख जोर्न समस्या परेको हो । ‘परिवारको गुजारा चलाउने एक मात्र विकल्प रहेको डुङ्गा हो’ मनिकलाल मुखियाले भने–‘त्यो डुङ्गामा पनि प्रशासनले ताल्चा लगाइदिएपछि नदी किनारमै थन्कियो।’

अहिले आफुहरू भोकभोकै बस्नुपर्ने बाध्यता परेको उहाँले दुखेसो गर्नु भयो । ‘हाम्राे टोलमा स्थानीय सरकारले राहत वितरण नगरेको पनि होइन, तर केही मात्र परिवारलाई राहत उपलब्ध गराएको छ’ उहाँले भन्नु भयो –‘बाँकी परिवारको रेखदेख पनि स्थानीय सरकारले नै गर्नुपर्ने थियो, तर हाम्राे पीडा कसैले बुझ्न सकेन ।’

सोही ठाउँका मनोजकुमार मुखियाले आफुहरूको दैनिकी सहज पार्नेतर्फ ध्यान पुर्याउन आग्रह समेत गर्नुभयो । उता, नगरपालिका प्रमुख शैलेशकुमार साहले सो स्थानमा बसोबास गर्ने सबै परिवारलाई राहत उपलब्ध गराईसकेको बताउँदै डुङ्गा सञ्चालनमा ल्याउने सन्दर्भमा प्रशासनसँग समन्वय भइरहेको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?