हुम्ला समाचारदाता
सिमकोट वैशाख २८ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कोरोना परीक्षणका किट, स्वाब संकलन सामाग्री, औाषधि र चिकित्सक सहित दक्षिणी हुम्लामा आउनु भएको छ । गाउँपालिका स्तरमा जिल्ला बाहिरबाट उद्धार गरिएका नागरिकहरु क्वारेन्टाईनमा रहेका बेला भाईरस संक्रमणका किट अभाब हुदा मुख्यमन्त्री शाही बिशेषज्ञ डाक्टर र किटहरु लिएर हुम्ला आउनु भएको हो ।
बिशेषज्ञ चिकित्सक र कोरोना भाईरस संक्रमण परीक्षणका किटहरु लिएर मुख्यमन्त्री हुम्ला जिल्लाका चार वटा गाउँपालिकामा पुग्नु भएको संगै रहनु भएका सामाजिक बिकास मन्त्री दलबहादुर रावलले बताउनुभयो । मुख्यमन्त्री शाहीको टोली हुम्लाका ताँजाकोट, अदानचुली, सर्केगार्ड र चंखेली गाउँपालिका केन्द्रमा पुगेको छ ।
भाईरस संक्रमण परिक्षणका किटहरु पनि गाउँपालिकामा पुगेका छन् भने नमूनाका रुपमा स्वाब संकलन गरेर सुर्खेत लिइनेछ । ती गाउँपालिकामा नेपालगंज र सुर्खेतबाट उद्धार गरिएका ४३८ जना नागरिकहरु क्वारेन्टाईनमा रहदै आउनु भएको छ । त्यसैगरि माथिल्लो तीन वटा गाउँपालिकालागि हवाई जहाजबाट पिसिआर किट पठाएर कोरोना संक्रमणको नमूना परिक्षण गरिने मन्त्री रावलले बताउनुभयो । यी तीन गाउँपालिकामा ३८९ जना क्वारेन्टाईनमा रहदै आएका छन् । सुर्खेतबाट गएका बिशेषज्ञ चिकीत्सकहरुले स्थलगत रुपमा सेवा प्रदान गर्नेछन् । हुम्लामा हाल कुनै पनि गाउँपालिकासंग कोरोना संक्रमण परिक्षणका किटहरु छैनन् । कोरोना संक्रमणका किटको अभाब भएपछि जिल्लाबाट त्यसको मागका लागि प्रदेश सरकारलाई ठुलो दबाब पर्दै आएको थियो । सडक सञ्जाल नजोडिएको जिल्लामा हेलिकोप्टरबाट मुख्यमन्त्रीको टोलि आएको हो । साथमा सामाजिक बिकास मन्त्री दल रावल रहनु भएको छ ।