शालिग्राम नेपाल
चितवन, वैशाख २८ गते । कोरोना संक्रमण भएको चितवनकी महिलाको पाँचौ पटक स्वाब परीक्षणमा पनि पोजिटिभ देखिएको छ ।
राप्ती नगरपालिका–८ ब्रम्हनगरका ६३ वर्षीया महिलाको स्वाव परीक्षणमा पोजिटिभ देखिएको हो । उहासँगै कोरोना पोजिटिभ भएर भरतपुर अस्पतालमा भर्ना भएका उहाँका २७ वर्षीय छोरा कोरोना भाइरसमुक्त भइसक्नुभएकाे छ । पछिल्लो पटक परीक्षणमा पनि महिलाको स्वाब परीक्षणमा काेराेना पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो ‘वैशाख ५ मा स्वाबको पीसीआर परीक्षण हुँदा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये छोरा निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आमाको भने पोजेटिभ नतिजा आइरहेको छ, उहाँको अहिलेसम्म पाँचौ पटक परीक्षण गरिएको छ ।’ बिरामी महिलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको सूचना अधिकारी पौडेलले जानकारी दिनु भयो । आमासँगै अस्पताल भर्ना भएका छोरा डिस्चार्ज भएपनि आमा निको भएपछि मात्र जाने भन्दै उहाँ बसिरहनुभएको छ ।
संक्रमितको सम्पर्कमा आएका सबैको अवस्था सामान्य
कोरोना भाइरस संक्रमण पुष्टि भएका दुईजना संक्रमितको सम्पर्कमा आएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सम्पर्कमा आएका १० जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । दुइ पटक पीसीआर र एकपटक आरडीटी गर्दा समेत नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनबाट मुक्त गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । उनीहरु अब एकहप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । चैत्र ३ गते बेलायतबाट काठमाडौं हुँदै चितवन आएका आमा छोरालाई कोरोना भाइरसको संक्रमण भएको थियो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा सात सय २३ जनाको स्वाब संकलन गरेर पीसीआर भएको छ । अस्पतालमा भर्ना भएर बसेका बाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । नौसय ६५ जनाको आरडीटी भएको परीक्षण भएको छ । कोरोना भाइरसको पीसीआर परीक्षण भरतपुरमै हुने गरेको छ ।
पीसीआर ल्याब पुन सञ्चालन
कोरोना भाइरसको परीक्षण गर्ने पीसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि आइतबारबाट नियमित परीक्षण शुरू भएको हो ।
प्रयोगशालाका डाक्टर कृष्णसागर शर्माले भन्नु भयो ‘किटको अभावमा परीक्षण रोकिएको थियो, शनिबार आएपछि आइतबारबाट काम सुरु भएको छ ।’ कीटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन । यहाँको नमूना हेटौँडा र काठमाडौँ पठाइँदै आएको थियो । डाक्टर शर्माका अनुसार एकहजार पाँचसय किट आएपछि अहिले समस्या छैन ।
एकैपटक यति धेरै किट पठाएको यो पहिलोपटक हो । गत चैत २४ गतेबाट परीक्षण शुरू गरेको प्रयोगशालाका लागि शुरूमा जम्मा ३८४ थान किट पठाएको थियो । त्यसपछि बीचमा १ सय थान किट पठाए पनि दुई दिनमै सकिएपछि प्रयोगशाला बन्द भएको थियो ।
यस प्रयोगशालामा दैनिक ४० जनाको हाराहारीमा पीसीआर परीक्षणका लागि नमूना संकलन हुने गरेको छ । यो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछिको उत्कृष्ट मानिएको छ ।