सञ्जय कुमार मिश्र
गौर, वैशाख २९ गते । बन्दाबन्दीको समयमा भन्सार छली गरी सीमाबाट चोरी निकासी पैठारीमा सलग्न रहेको आरोपमा एकलाख ५० हजार मुल्य बराबरको मालसामानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिमा नाकाहरूबाट हुने चोरी निकासी, पैठारी, भन्सार छली चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रहरीले मालसामानसहित तीनजना तस्करलाई पक्राउ गरेको हो ।
प्रहरीले चलाएको अभियानअन्तर्गत रौतहटको ईशनाथ नपा ५ बस्ने ४२ बर्षीय सञ्जय सिंह ,राजपुर नपा ८ बस्ने २१ बर्षिय पवनकुमार साह र सोही ठाउँका २३ बर्षीय अरविन्द कुमार साहलाई पक्राउ गरिएको प्रहरी निरिक्षक नवीनकुमार सिंहले बताउनुभयो ।
नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ चोरी निकासी पैठारीको क्रममा प्रहरीले गौर तथा ईशनाथ नगरपािलकाको विभिन्न स्थानबाट दुध, चिनी, सुर्ती, सेवई, सरवत जुस, सौफी, रक्सीहरु, भोला गुटखा, चुरोटलगायत साईकल, मोटरसाईकलसहित एक लाख ५० हजार मुल्य बराबरको मालसमान बरामद गरेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।
भन्सार छलीका मालसामानसहित सो कार्यमा संलग्न तिनै जनालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो ।