logo
२०८१ मंसिर १२ बुधवार



लकडाउनले स्मार्ट घलेगाउँ सुनसान

खुला |


लकडाउनले स्मार्ट घलेगाउँ सुनसान


बेलिना थापा
लमजुङ, बैशाख ३० गते । दैनिक आन्तरीक तथा बाह्य पर्यटकले भरीभराउ हुने स्मार्ट भिलेज घलेगाउँ सुनसान बनेको छ । क्व्होलासोंथर गाउँपालिका ३ स्थित स्मार्ट भिलेज घलेगाउँमा लकडाउनका कारण पर्यटक नआएपछि सुनसान बनेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लकडाउन भएपछि घलेगाउँमा कुनै पर्यटक गएका छैनन् । गाउँलेले पनि अपरिचित व्यक्ति तथा पाहुनालाई प्रवेशमा रोक लगाएको छ ।

दैनिक ३०० जनासम्म पर्यटक आउने गरेको घलेगाउँ कोरोना भाइरस संक्रमण फैलन नदिन लकडाउन भएपछि सुनसान भएको स्थानीयले बताएका छन् । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार गत बर्ष यो समय दैनिक २ सय ५० देखि ३०० जनासम्म पर्यटक आउने गथ्र्यो । बैशाख महिना पर्यटकीय सिजन भएकाले पर्यटकको आइरो लाग्ने गथ्र्यो । ‘यो समय पर्यटक आउने सिजन हो । घलेगाउँ घुम्न र रमाउन आउनेलाई व्यवस्थापनमा समस्या हुन्थ्यो’ उहाँले भन्नुभयो, ‘अहिले लकडाउन छ । एक जना पनि आउनुभएको छैन । हामीले पनि आउन दिएका छैनौं । गाउँ सुनसान छ ।’

गाउँमा पर्यटकको चहलपहल हुँदा कोरोना संक्रमण बढ्ने डरले घलेगाउँ बासीले पर्यटकलाई गाउँमा आउन दिएका छैनन् । यो लकडाउनको समयमा गाउँलेले घरायसी काम, शौचालय, घर मर्मतमा लागेको उहाँले बताउनुभयो ।

गतबर्ष यो समयमा पर्यटकको स्वागत सत्कारमा व्यस्त हुने स्थानीय अहिले फुर्सदमा छन् । उनीहरुले लकडाउनको सदुपयोग गर्दै चिया बगान सरसफाई र चिया खेती विस्तारमा समेत लागेका छन् । सहरबाट गाउँ आएका युवायुवति, महिला कृषि कर्ममा जुटेका छन् । घलेगाउँ सञ्चालक समितिका अध्यक्ष गंगाबहादुर घलेले नेपालमा कोरोना संक्रमण देखिनसाथ गाउँमा बुद्धिजिवी, समाजसेवीको छलफल गरी पाहुना आउन नदिने निर्णय गरेको बताउनुभयो ।

नयाँ अनुहार भएका व्यक्तिलाई गाउँ प्रवेश गर्न नदिने र गाउँ प्रवेश गर्ने गेटबाटै फिर्ता पठाउने गरेका छन् । कोरोना संक्रमण फैलन नदिनका लागि गाउँमा प्रवेश गरेमा १० हजार र पर्यटक राखेमा २५ देखि ५० हजारसम्म जरिवाना तोकिएको उहाँले बताउनुभयो ।

१ सय २० घरधुरी रहेको घलेगाउँका स्थानीयले लकडाउनको सदुपयोग गर्दै होमस्टे संरचना सुधार, परम्परागत सिप सिक्ने, कृषि कर्म गर्ने गरेका छन् । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले स्मार्ट भिलेज घलेगाउँमा थप सेवा विस्तारका लागि यो समय उपयुक्त भएकाले स्थानीयलाई संरचना निर्माणमा लगाएको बताउनुभयो । फुर्सदको समयमा स्थानीय व्यवसायिक कृषि, पशुपालन, सरसफाईलगायतको काममा लागेको बताउनुभयो ।

घलेगाउँमा २०५६ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे संचालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ३४ घरमा संचालन गरिएको छ । घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । घलेगाउँ आउने पाहुँनालाई गुरुङ संस्कृति घाँटु, सोरठी, कृष्णचरित्र लगायतका पौराणिक नृत्य देखाउने गरिन्छ । गाउँमा नमुना चिया बगान, तिजे उत्तरकन्या मन्दिर छ । गाउँबाट हिमाल दृश्यवलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगाशाला, क्व्होइँबो धीं पार्क हेर्न सकिन्छ ।

पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ । गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । माछाको सुकुटी, लोकल रक्सी, बनमा पाइने निउरो, कुरिलो, सिस्नो, बडमले, खोले, रायो सागको स्वाद लिन सकिन्छ । नेपाली, गुरुङ फिल्म तथा म्युजिक भिडियोका लागि घलेगाउँ रोजाइमा परेको छ । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दुरीमा पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?