प्रकाशचन्द्र भट्टराई
दमौली, बैशाख ३१ गते । तनहुँको शुक्लागन्डकी नगरपालिका वडा नम्बर १२ ले कागतीको बिरुवा रोप्ने कृषकलाई पैसा दिने भएको छ । वडामा सुचीकृत भई २५ वटाभन्दा बढी कागतीको बिरुवा रोप्ने कृषकलाई तीन वर्षसम्म प्रतिबिरुवा एक सय रुपियाँ दिइने भएको हो ।
वडालाई कागतीमा आत्मनिर्भर बनाउन तथा कागती बिक्रीबाट कृषकको जीवनस्तर सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको वडा अध्यक्ष मनराज गुरुङले बताउनुभयो । व्यावसायिक कागती खेतीसम्बन्धी तालिम प्राप्त गरी वडा कार्यालयमा सुचीकृत भई कम्तीमा २५ वटा बिरुवा लगाउने कृषकलाई प्रतिबिरुवा एक सय रुपैयाँ अनुदान उपलब्ध गराइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
शुक्लागण्की नगरपालिकाकै उच्चस्थानमा रहेको सो वडाकाे हावापानी कागती खेतीक लागि उपयुक्त मानिन्छ । अहिले कृषकहरू निर्वाहका लागि दुई÷चार वटा कागतीको बोटको भरमा बसेको हुँदा उहाँहरूलाई कागती खेतीतर्फ आकर्षित गराउन र आर्थिक उपार्जनको माध्यम बनाउन यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
वडा कार्यालयका अनुसार दुई चरणको अनुगमनपश्चात अनुदानको रकम उपलब्ध गराइने छ । पहिलो चरणमा आउने साउन÷भदौ महिनामा अनुगमन हुनेछ । यसबेला कागती बगैँचा गोडमेल भएको झाडी सफा गरेको हुनुपर्ने तथा दोश्रो चरणको अनुगमन आगामी चैत÷बैशाखमा गरिनेछ । त्यसबेला बिरुवामा मल र माटो हालेनहालेको र हेरचाह गरेनगरेको हेरिने र त्यसपछि मात्र प्रतिबोट एक सय रुपैयाँ उपलब्ध गराईने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।