बेलिना थापा
लमजुङ, जेठ २ गते । लमजुङको एक मात्र सरकारी अस्पताल सुन्दरबजार अस्पतालमा रेबिजविरुद्धको खोप सेवा शुरु भएको छ । सुन्दरबजार नगरपालिका ७ स्थित सुन्दरबजार अस्पतालमा बिहीबारबाट कुकुरको टोकाईबाट लाग्ने रेबिज रोगविरुद्धको खोप सेवा सुरु गरिएको हो ।
सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै निःशुल्क खोप सेवा शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादर भट्टराईले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा खोप सेवा नहुँदा कुकुरले टोकेको खण्डमा नागरिकले अन्य अस्पतालमा धाउनुपथ्र्यो । टाढा जानुपर्ने र खर्च पनि बढी लाग्ने नागरिकको गुनासोलाई सम्बोधन गर्दैै अस्पतालमै सेवा सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘नागरिकको सेवालाई ख्याल गरी खोप सेवा शुरु गरेका छौँ । कुकुरले टोकेको खण्डमा जुनसुकै समयमा पनि अस्पताल आएर सेवा लिन सकिन्छ । नागरिकलाई २४ सै घण्टा सेवा दिन तयार छौँ ।’
अस्पतालका मेडिकल अफिसर डाक्टर दुर्गा मिश्रका अनुसार जो कसैलाई पनि कुकुरले टोकेमा र रगत आएको खण्डमा भ्याक्सिन लगाउनुपर्छ । अस्पतालमा भ्याक्सिनको व्यवस्था नहुँदा नागरिकलाई बेँसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पठाउने गरिएको थियो । अस्पतालमै सेवाको सुरुवातपछि नागरिकलाई सहज रुपमै सेवा पाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । नागरिकको सेवाका लागि दिनरात तयार रहेको बताउनुभयो ।
१५ शय्याको सुन्दरबजार अस्पतालले इमरजन्सी सेवा, ओपीडी सेवा, स्त्रीरोग तथा प्रसूति सेवा, गर्भवतीका लागि भिडियो एक्सरे, ल्याब सेवा दिँदै आएको छ । अस्पतालमा २ जना डाक्टर, ३ जना स्टाफ नर्स, ३ जना अनमी, १ जना हेल्थ असिस्टेन्ट, १ जना ल्याब टेक्निसियन, एक जना सिएम, १ जना फार्मेसिस्ट रहेका छन् ।