logo
२०८१ मंसिर १२ बुधवार



उदयपुरको त्रियुगा नगरपालिकाले कोरोनाको रोकथाम तथा नियन्त्रणमा दुई करोड खर्चियो

खुला |


उदयपुरको त्रियुगा नगरपालिकाले कोरोनाको रोकथाम तथा नियन्त्रणमा दुई करोड खर्चियो


भक्तिविलास पोखरेल
गाईघाट,जेठ २ गते । उदयपुरको त्रियुगा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विकास निर्माणका योजनाहर कटौती गरी अहिलेसम्म करिव दुईकरोड रुपियाँभन्दा बढी खर्च भइसकेको जनाएको छ ।
नगरपालिकाको सभाकक्षमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख बलदेव चौधरीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले अहिलेसम्म भएगरेका कार्यहरू र आगामी रणनीतिसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्दै सो परिमाणको रकम खर्च भईसकेको बताउनुभएको हो ।

नगरप्रमुख चौधरीले कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेकोे लकडाउनबाट प्रभावित भएका करिब आठ हजार घरपरिवारलाई हालसम्म गरिएको राहत वितरण र सङ्क्रमितहरूको स्वास्थ्याेपचार, क्वारेन्टाइन व्यवस्थापन, निशुल्क एम्बुलेन्स सेवा सञ्चालन, हेल्थडेस्क तथा नागरिक सहायता केन्द्र सञ्चालन र पीसीआर प्रणालीबाट सङ्क्रमितसँगको सम्पर्कमा रहेका भनिएका व्यक्तिहरूको स्वाव सङ्कलन जस्ता कार्यमा दुईकरोड रुपियाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा नगरप्रमुख चौधरीले त्रियुगा नगर सरकार गठन भएयताकै सबैभन्दा जटिल, कठिन र संवेदनशील घडीमा नगरपालिका पुगेको भन्दै कोरोना भाइरसको हटस्पट बनेको त्रियुगा नगरपालिका वडा नं ३ को भूल्केलगायत सिङ्गो नगरपालिका क्षेत्रमा उत्पन्न भएको मनोवैज्ञानिक सन्त्रास, भय र डरलाई निस्तेज पार्न गरिएको नगरको प्रयासले अहिले सार्थकता पाएको छ भन्नुभयो ।

बाउन्न दिनदेखिको लगातारको लकडाउनले नागरिकको दैनिकी ठप्प भएको र यसबाट उत्पन्न प्रतिकूल परिस्थितिले दैनिक ज्यालादारी गरेर खाने यहाँका आठहजार घरधुरीका गरिब तथा मजदुर परिवारहरूलाई बिहान बेलुकाको छाक टार्न समस्या परेपछि राहात प्याकेज वितरणका लागि नगरपालिकाले वडागत रुपमा रकम निकासा गरेको बताउनुभयो ।

जसअनुसार वडाको पाँचलाख समेत वडा नं १ मा ११ लाख ४५ हजार,२ मा १५ लाख,३ मा १० लाख,४ मा १२ लाख,५ मा ११ लाख,६ मा१२ लाख ७०हजार,७ र ८मा दश दशलाख,९ मा १३ लाख ७० हजार,१० १४ लाख २५ हजार,११ मा १७ लाख ४१ हजार,१२ मा २१ लाख १५ हजार,१३ मा सातलाख २५ हजार, १४ मा १० लाख,१५ मा ११ लाख ५० हजार १६ मा १२ लाख गरी कुल एक करोड ९९ लाख ४१ हजार रकम निकासा गरिएको उहाँले बताउनुभयो ।

त्रियुगा नगरपालिकाको ती सबै वडा बसोबास गर्दै आएका विपन्न वर्गलाई नुन, तेल, दाल र चामल वितरण गरेको र यसका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट करिब १३ लाख नगदसहित खाद्यान्न, स्वास्थ्य सामग्री तथा औषधिलगायतका वस्तुहरूसमेत सहयोग प्राप्त भएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?