logo
२०८१ मंसिर १२ बुधवार



भिमान बजार सुनसान, दश जनाको स्वाब सङ्कलन गरियो

खुला |


भिमान बजार सुनसान, दश जनाको स्वाब सङ्कलन गरियो


बाबुराम देवकोटा
सिन्धुलीमाढी, जेठ २ गते । सिन्धुलीको कमलमाई नगरपालिका–९ भिमान बजारमा सिल गरिएका चार घरका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षणका लागि शुक्रबार प्रादेशिक अस्पताल हेटौँडा पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमित एक स्टाफ नर्सले भिमानमा खाना खाएको आफन्तको घर र उक्त घरसँगै जोडिएर एउटै कम्पाउण्डभित्र रहेका अरु तीन घरलाई बुधबार २१ दिनको लागि सिल गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवम् प्रवक्ता उपेन्द्र न्यौपानेका अनुसार खाना खाएको घरबाट छ जनाको स्वाब सङ्कलन गरिएको छ । उक्त घरको नजिकका अरु दुई जनाको र धनुषाको मिथिला नगरपालिकामा भेटिएका सङ्क्रमितको सम्पर्कमा रहेका दुईजना गरी कुल १० जनाको स्वाब सङ्कलन गरी हेटौँडा प्रयोगशाला पठाइएको छ ।

सिल गरिएका चार घरका १९ जनामध्ये स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएका आठ जनाको नतिजा पोजिटिभ आयो भने अरुको पनि स्वाब सङकलन गरी पठाइने र नेगेटिभ आयो भने नपठाइने उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुनसरी जिल्ला निवासी एक स्टाफ नर्स काठमाडौँ जाने क्रममा सोमबार बिहान ९ बजेतिर भिमानमा आफन्तको घरमा पसेर खाना खाएको खुलेको थियो ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा भिमान बजारका ती १७ घरका मानिसलाई स्थानीय प्रशासनले बिहीबारदेखि बाहिर निस्कन बन्देज लगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?