गोरखापत्र अनलाइन ।
काठमाडौँ, जेठ २ गते । सरकारले आगामी आर्थिक वर्षभित्र ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सेवाको सुनिश्चित गर्ने भएको छ । संघीय संसदको बैठकमा आज राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी तीन वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा सबै घरमा खानेपानी सुविधा पु¥याइने उल्लेख छ । हाल कुल ९१ प्रतिशत नेपालीलाई आधारभूतस्तरको खानेपानी सुविधा पु¥याइएको जनाउँदै आकस्मिक र विपदका अवस्थामा तथा ग्रामीण बस्तीहरुमा खानेपानी सेवा पुर्याउन सातै प्रदेशमा सञ्चालनमा ल्याइएको वाटर एम्बुलेन्सलाई थप विस्तार गरिने उल्लेख छ ।
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौँमा पानी ल्याउने गरी आगामी आर्थिक वर्षभित्र यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने राष्ट्रपतिले बताउनुभयो । याङ्ग्री र लार्के खोलाबाट थप पानी उपलब्ध हुने गरी आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले महाकाली, कर्णाली, बबई र कोसीलगायतका नदीमा आधारित थोक वितरण प्रणाली तथा जलाशययुक्त खानेपानी आयोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।