केशवराज पौडेल
काठमाडाैँ, जेठ ४ गते । सिन्धुपाल्चोक जिल्लाबाट आएका ५० जना भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोकवाट कन्टेनर भ्यानबाट काभ्रेको सदरमुकाम धुलिखेल आइपुगेका ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो ।
सिन्धुपाल्चोकको जल्केनीबाट आइतबार बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
‘उहाँहरूलाई खाना खुवाइएको छ भने दुईओटा गाडी मार्फत सिन्धुपाल्चोक फर्काउने तयारी गरिरहेको छ’ प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले भन्नुभयो ।
प्रजिअ तिमल्सिनाका अनुसार नियन्त्रणमा भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । आइतबार करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो ।