logo
२०८१ मंसिर १२ बुधवार



जुम्लामा एकै दिन २६६ जना स्वास्थ्यकर्मी र पत्रकारको स्वाब सङ्कलन

खुला |


जुम्लामा एकै दिन २६६ जना स्वास्थ्यकर्मी र पत्रकारको स्वाब सङ्कलन


नेत्र शाही जुम्ला
खलङ्गा जेठ ५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पत्रकार र प्रतिष्ठानका कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब सङ्कलन गरेको छ । देशका केही जिल्लामा पत्रकार र स्वास्थ्यकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि प्रतिष्ठानमा स्वास्थ्यकर्मी र पत्रकारहरूको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो ।

जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, प्रतिष्ठानमा कर्मचारी, स्वास्थ्यकर्मी र जिल्लाका पत्रकारहरूसहित २६६ जनाको स्वाब सङ्कलन गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा.नरेश थापाले जानकारी दिनुभयो । यसैगरी करिब १८ जना पत्रकारहरूको स्वाब सङ्कलन गरिएको र सङ्कलन गर्ने क्रम जारी रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुर्णप्रसाद चौलागाइँले बताउनुभयो । सङ्कलन गरिएको स्वाब जुम्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिने र सङ्कलन गरिएको स्वाबको रिपोर्ट भने बेलुकासम्ममा आउने भएको अस्पतालले जनाएको छ । कोराना भाइरस रोकथामको अग्रमोर्चामा खटिएका सबै स्वास्थ्यकर्मी र पत्रकारहरूको स्वाब सङ्कलन गर्नुपर्ने बताइएको छ । प्रतिष्ठानका केही स्वास्थ्यकर्मीहरू फिल्डमा कामबाट फर्किएपछि पुन जाँच हुने भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ठूलो क्षमताको पीसीआर मेसिन ल्याएपछि परीक्षणमा तीव्रता आएकाे छ । यसअघि आठ सय ४७ जनाको एकै दिन र त्योभन्दा पहिले गरी जुम्लामा एक हजार दुई सय ६३ जनाकै परीक्षण गरी नेगेटिभ रिपाेर्ट आइसकेको छ ।

यसैगरी कर्णालीभरि प्रदेश सरकारले स्वाब सङ्कलन गर्ने अभियान पनि तीव्र गतिमा भरहेको जनाइएको छ । यसमध्ये कर्णाली प्रदेशका साबिक ५ जिल्ला जुम्ला सहित हुम्ला, मुगु, डोल्पा र कालिकोटमा प्रतिष्ठानको जनशक्तिले काम गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?