सिमकोट जेठ ७ गते । हुम्लाबाट काेराेनाभारइरसकाे पिसिआर विधिबाट परीक्षणका लागि प्रादेशिक अस्पताल, सुर्खेत पठाइएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न क्वारेन्टाइनमा रहँदैआएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी हवाईजहाजबाट सुर्खेत पठाइएको हो ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले क्वारेन्टाइनमा रहँदैआएका व्यक्तिमध्ये २२६ जनाको सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी सिमकोट पुगेलगत्तै हवाईजहाजबाट सुर्खेत पठाइएका हुन् । प्रमुख सिंहले सुर्खेतमा पनि पिसिआर परिक्षणको निकै चाप भएका कारण रिपोर्ट आउन केही समय लागेको बताउनुभयो ।
स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्न सुर्खेत पठाएको भएपनि व्यक्तिहरू भने परीक्षण रिपोर्टको नतिजा नआउँदै घरघरमा पठाइएका थिए । घर पठाई होम क्वारेन्टाईनमा रहँदैआएका सबैको रिपोर्ट नेगेटिभ आएपछि अब सन्तोष मिलेको सिमकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नरबहादुर भण्डारीले बताउनुभयो । त्यसैगरी १३९ जनाको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमुख सिंहले बताउनुभयो । १३ वटा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा खुसीयाली छाएको छ ।
उहाँहरू सबै घर फिर्ता हुनुभएको छ । यसअघि सङ्कलन गरी सुर्खेत पठाइएका ११ वटा स्वाबको रिपोर्ट भने नेगेटिभ आएको छ । उहाँहरू सबै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्गबाट गत वैशाख २० र २१ गते उद्धार गरिएका हुन् । यसअघि पठाएका ११ स्वाबको रिपोर्ट पहिले नै नेगेटिभ आएको थियो ।