अमृतप्रसाद पौडेल
बेनी, जेठ ७ गते । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगका दुई वटा गाउँपालिकाको लागि चीनबाट प्राप्त राहत सामग्रीहरू सडक अवरुद्ध हुँदा कोरला नाकामै रोकिएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट स्थानीय तवबरबाट सङ्कलित राहत सामग्रीहरू वैशाख २६ गते नाकामा आइपुगेको भएपनि विगत १३ दिनदेखि कोरला नाकामा नै रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो ।
प्रजिअ अर्यालका अनुसार लोमान्थाङ गाउँपालिका–५, का वडाध्यक्ष हिमजिङ दोर्जे विष्ट र स्थानीय व्यापारी पासाङ गुरुङलाई सीमानामा चीनका प्रतिनिधीहरूले राहत हस्तान्तरण गरेका थिए । कोरलाबाट लोमन्थाङ आउने सडक हिमपातपछि आएको बाढीले बिग्रिएका कारण ल्याएर वितरण गर्न समस्या भएको प्रजिअ अर्यालको भनाइ छ ।
चीनले पठाएको राहत सामग्रीमा क्वारेन्टाइनमा प्रयोग गर्ने खालका सामग्री रहेको लोमान्थाङ गाउँपालिका–५ का वडाध्यक्ष हिमजिङ दोर्जे विष्टले बताउनुभयो । विष्ट भन्नुहुन्छ, ‘चीनसँग सिमाना जोडिएका नेपालका पाँच वटा जिल्लालाई राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको चिनियाँ प्रतिनिधिले बताएको थियो, सोही अनुसार नै मुस्ताङलाई सामग्री आएको हो ।’
नेपालसँग सिमाना जोडिएको चिनियाँ क्षेत्रबाट जनस्तरबाट छ ट्रक सामग्री कोरला नाकामा आइपुगेको चीनले प्रदान गरेको सामग्री बुझ्ने लोमन्थाङ गाउँपालिका–५ का वडा अध्यक्ष हिमजिङ दोर्जे विष्टले बताउनुभयो । उहाँले भन्नु भयो, ‘आएका सामग्रीको सूची जिल्ला प्रशासन कार्यालय पठाइएको छ ।’
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार क्वीज बेड ४८०, डिसइन्फेक्सन लिक्वीड ६० जार, थर्मलगन १०पिस, एन ९५ मास्क २५० पिस, पिपिइ सेट २५०, डिस्पोजेबल मास्क १० हजार पिस, खाने तेल ९०० बकेट, चामल ९०० बारा, पिठो ९०० बोरा, प्याज ५०० बोरा, पञ्जा ५०० प्याकेट, काउली ५०० केजी, आलु १ हजार बोरा, जौ÷उवा ५०० बोरा रहेको छ ।
प्रजिअ अर्यालका अनुसार के कति कारणले सामग्री वितरण हुन रोकिएको हो भन्ने जानकारी छिटो गराउनका लागि जेठ ६ गते लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकालाई पत्राचार गरिएको छ । यदि गाउँपालिकाले सामग्री ल्याएर वितरण गर्ने काम गरेन भने प्रशासनले नै त्यसको व्यवस्थापन गर्ने अर्यालले बताउनुभयाे ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले भने चीनबाट आएको सामग्री प्रोटोकल नहेरी वडाअध्यक्षलाई बुझाएकोले प्रयोग गर्न नहुने तर्क गर्नुभएको छ । गाउँपालिका अध्यक्ष विष्ट भन्नुहुन्छ, ‘कोरोना भाइरस पनि चीनबाटै शुरु भएकोले अहिले त्यो सामग्री प्रयोग गर्दा लोघ्याघर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाका जनतालाई कोरोनाको डर पनि हुन सक्छ । कोही व्यक्ति वा व्यापारीलाई जो कसैले सामग्री बुझाउँदैमा प्रयोग गर्नुपर्छ भन्ने छैन ।’ नेपाली काँग्रेसका पूर्व सभापति समेत रहेका लोमन्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले भन्नुभयो ।
यसैबिच जाडो छल्न र व्यापारको सिलसिलामा जिल्ला बाहिर पुगेका एक हजार २६९ मुस्ताङीलाई जिल्लामा ल्याई होम क्वारेनटाइनमा राखिएको छ । सम्बन्धित क्षेत्रमै स्वास्थ्य परीक्षण गराएर मात्रै जिल्ला भित्र्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । अन्य जिल्लामा रहेका लोमन्थाङ गाउँपालिकाका ५०७, थासाङका ७३, घरपझोङका १७६, बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकाका ४१४ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका २९५ जनालाई ल्याएर कडाइका साथ होम क्वारेन्टाइनमा राखिएको छ ।