गाईघाट समाचारदाता
गाईघाट,जेठ ७ गते । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले लागु गरेको लकडाउनसँगै प्रभावित भएको खोप कार्यक्रम उदयपुर जिल्ला भर पुन सुचारु भएको छ ।बालबालिकाले नियमित लगाउनु पर्ने खोप कार्यक्रम लकडाउनले गर्दा स्थगित भएकोमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार सुचारु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप कार्यक्रम स्थगित भएपछि उदयपुर जिल्लाका १५ महिना मुनिका करिव आठ हजार बालबालिका नियमित खोप लगाउनबाट बञ्चित हुदै आएकोमा अवभने नियमित खोप लगाउने अवसरबाट उनिहरुलाई बञ्चीत नगरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो । ती बालबालिकालाइ फरक फरक उमेर अनुसार ११ प्रकारका खोप लगाउने कार्यक्रम अहिले सुचारु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेशहुदै जिल्ला र पालिका सम्म खोपको वितरण गर्नुपर्ने भएकाले लकडाउनले त्यो सम्भव नभएपछि खोप कार्यक्रम प्रभावित बनेको थियो तर अहिले सुरक्षाका सवै विधिहरु अपनाएर छुटेको डोज समेतलाई नियमित हुनेगरी खोप कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य कार्यालय प्रमुख सुबेदीले बताउनुभयोे ।
स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार खोप लगाउन खोप केन्द्रमा बालबालिका जम्मा गर्नुपर्ने र सामाजिक दुरीसमेत कायम राख्नु पर्ने तथा आमार बच्चाले मास्क सेनिटाइजर आदि सुरक्षा सामग्रीहरु लगाएर आउनु पर्ने गरी खोप कार्यक्रम सञ्चालन गर्न सकिने भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्रका आधारमा खोप लगाउन थालिएको हो ।
शिशु जन्मेको १५ दिनभित्र बिसिजी खोप दिइन्छ । विसिजी खोप भाइरल रोगहरुसँग लड्न सक्ने क्षमता बढाउनका लागि लगाइन्छ । हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ११ प्रकारका खोप बालबालिकालाई लगाउँदै आएको छ । गर्भवती आमालाई समेत खोप लगाउँदै आएको छ । कोरोना भाइरसका कारण ती सवै प्रकारका खोपहरु लगाउन स्थगित गरिएकोमा अवभने सुचारु भएको छ ।
मुलुकभर वर्षेनी एकवर्ष मुनिका करीब सातलाख बालबालिकाले खोप प्राप्त गर्दछन् । नेपालमा व्यवस्थितरुपमा विसं २०३५ सालदेखि खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालको खोप कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट मानिएको छ । खोपका कार्यक्रमका कारण दादुरा, निमोनिया, जापानीज इन्सेफ्लाइटिस जस्ता रोगहरुबाट हुने बालमृत्यु दर उल्लेख्य रुपमा नेपालमा घटेको जनस्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।
खोप कार्यक्रमलाई सहज र सरल बनाउन जिल्ला भरमा दुईसय १० वटा खोप केन्द्र स्थापना गरिएको जिल्ला खोप सुपरभाईजर चिरिञ्जवि निरौलाले बताउनुभयो । उहाँका अनुसार कटारी नगरपालिका सहित उदयपुरगढ िर ताप्लि गाउँपालिकामा प्रत्येक महिनाको १४ देखि १७ गतेसम्म र बाँकि अन्य पालिकाहरुमा ३ देखि ६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुदै आएको छ ।
यसका अतिरिक्त जिल्ला अस्पताल गाईघाटमा प्रत्येक महिना हप्तामा एकदिन बुधवार खोप कार्यक्रम सञ्चालन गरिदै आएको सुपरभाईजर निरौलाले बताउनुभयो ।