logo
२०८१ मंसिर १२ बुधवार



स्थानीय तहहरू उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा व्यस्त

खुला |


स्थानीय तहहरू उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा व्यस्त


डिलबहादुर सिंह
डोटी, जेठ ११ गते । डोटी जिल्लाका स्थानीय तहहरू भारतबाट फर्किएकाहरूको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा लागेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार शनिबार बेलुकासम्म मात्रै डोटीमा भारतबाट नाै सय ४७ जना फर्किएका छन् ।

भारतमा कोरोना भाइरस ( कोभिड १९)को सङ्क्रमण रोकथामका लागि भारत सरकारद्वारा लामो समयसम्म गरेको लकडाउनका कारण प्रभावित भएकाहरू घर फर्किने क्रम बढिरहेको छ । भारतका विभिन्न शहरबाट कैलालीस्थित गौरीफण्टा नाका हुँदै घर फर्किएकाहरूलाइ स्थानीय तहहरूले विभिन्न स्थानमा स्थापना गरेका क्वारेन्टाइनमा राखिएको छ । भारतबाट कति सङ्ख्यामा घर फर्किरहेका छन् भन्ने यकिन नहुँदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ ।

स्थानीय तहका कतिपय जनप्रतिनिधीहरू भारतीय नाकासम्मै पनि पुगेका छन् । कतिपयले सदरमुकाम क्षेत्रबाट उद्धार गरेर सम्बन्धित स्थानीय तहसम्म पुर्याइरहेका छन् । भारतीय नाकादेखि जिल्ला सदरमुकामसम्म बस र सदरमुकाम क्षेत्रबाट कच्ची बाटो भएका गाउँपालिकाहरूले भाडाका जिप, ट्र्याक्टरलाइ भारतबाट फर्केकाहरूको उद्धारमा प्रयोग गरिरहेका छन् । डोटीको सायल गाउँपालिका उपाध्यक्ष बिष्णा देवी सिंहले भन्नुभयो– ‘अहिलेसम्म भारतबाट एक सय ५० भन्दा बढी व्यक्तिहरू गाउँपालिकामा भित्रिसकेका छन्, भोलि मात्र दुइसय भन्दा बढी आउँदैछन् भन्ने खबर प्राप्त भएको छ । अबको केही दिन क्वारेन्टाइन व्यवस्थापन र सङ्क्रमण रोकथामका क्रियाकलापमा नै व्यस्त छौँ ।’

डोटी जिल्लाका स्थानीय तहहरूले सामुदायिक विद्यालय सरकारी भवनहरूलाइ क्वारेन्टाइनको रुपमा प्रयोग गरेका छन् । जिल्ला प्रशासन कार्यालय डोटीबाट प्राप्त जानकारी अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरूमा ३५ वटा क्वारेन्टाइन स्थापना गरिएका छन् । आवश्यकता अनुसार थप क्वारेन्टाइन निर्माणको काम समेत भइरहेको बताइएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?