logo
२०८१ मंसिर १२ बुधवार



भारतबाट आएकालाई अनिवार्य क्वारेनटाइन

खुला |


भारतबाट आएकालाई अनिवार्य क्वारेनटाइन


होमराज रानाभाट
कावासोती (नवलपरासी) जेठ १२ गते । पूर्वी नवलपरासीमा भारतबाट आउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । आइतबार साँझसम्म चार सय १५ जना भारतका विभिन्न ठाउँबाट पूर्वी नवलपरासी आएका र उनीहरू सबैको सम्बन्धित पालिकाहरूमा रहेका क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।

विशेष गरी जिल्लाको पहाडी क्षेत्रमा रहेको स्थानीय तहहरू बौंदीकाली र बुलिगंटारमा भारतबाट आउनेको सङ्ख्या धेरै रहेको र सबैलाई क्वारेनटाइनमा राखिने व्यवस्था मिलाइएको बौंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानामगरले बताउनुभयो ।

नवलपरासीमा हाल ६१५ वटा क्वारेन्टाइन निर्माण गरिएको तर त्यो अपुग हुने भएकाले थप क्वारेनटाइन निर्माणतर्फ सबै पालिकाका विद्यालयहरूलाई क्वारेन्टाइन निर्माणका लागि अनुरोध गरिएको र अहिले क्वारेन्टाइन निर्माणको गति बढाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । चार नगरपालिका र चार गाउँपालिका रहेको पूर्वी नवलपरासीमा हालसम्म दुई सय एक जनाको पीसीआर जाँच गरिएकोमा तीन जनालाई कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशबप्रसाद चापागाइँले बताउनुभयो ।

पूर्वी नवलपरासीमा अहिले दैनिक एक सय बढीका भारतबाट आउन थालेका छन् । । क्वारेनटाइन निर्माणदेखि पीसीआर र आरडीटीको अभाव देखिने भन्दै तत्काल सहयोगका लागि मन्त्रालयमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । प्रहरी उपरीक्षक दीपक रेग्मीले पूर्वी नवलपरासीमा भारतबाट मात्रै पाँच हजार बढी नेपाली आउने तथ्याङ्क रहेको र व्यवस्थापनमा अहिलेदेखि नै चनाखो हुनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?