मनोज भट्टराई
ओखलढुङ्गा, जेठ २० गते । नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको ७१ औँ दिन भइरहँदा ग्रामीण भेगमा घरेलु उत्पादन गरेर जीविका चलाउने सर्वसाधारण मारमा परेका छन् । बन्दाबन्दीका कारण घरेलु उत्पादनलाई बिक्रीवितरण गर्न नपाउँदा उनीहरू समस्यामा परेका हुन् ।
सरकारी स्तरबाट कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्नका लागि बन्दाबन्दीको घोषणा गरिएसँगै जिल्ला घरेलु वस्तु उत्पादन गरेर गुजारा गर्दै आएका व्यक्तिहरू मारमा परेका छन् ।
बन्दाबन्दीले आवतजावतमा कडाइ भएसँगै स–साना घरेलु सामग्री उत्पादन गरेर गाउँ–गाउँ पुगेर बिक्री गरेर आम्दानी गर्दैआएका व्यक्तिहरूको आम्दानीको स्रोत बन्द भएको छ । निँगालो र बाँसको डोको, डालो बुनेर छिमेकी गाउँलगायत नजिकका बजारसम्म पुर्याएर बिक्री गर्दै आउनुभएका ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ६ का दुर्गाबहादुर पुलामीको दिनचर्या नै बदलिएको छ, यतिबेला ।
खेतीबारीको काम नभएको खाली समयमा डोको, डालोलगायतका घरेलु सामग्री बुन्ने कार्य गर्दै आउनुभएका पुलामीको पछिल्लो समयमा भएको बन्दाबन्दीका कारण सामग्री बिक्री हुन छाडेपछि खेतीको काम र गाईभैँसी चराउनमै दिन बित्न थालेको छ ।
'खेतीपाती भन्दा पनि डोको डालो बुनेर आम्दानी हुने देखेर पहिल्यैदेखि यही पेसामा लागियो, अहिले एक ठाउँबाट अर्को जान बन्द गरिएकोले बिहान बेलुका हात मुख जोड्नै समस्या हुने अवस्था आएको छ' सिद्धिचरण नगरपालिका वडा नं. ५ डाँडाखर्कका तिलक राईले भन्नुभयो । आफूले उत्पादन गरेका वस्तु बिक्री नभएपछि घरायसी खर्चका लागि ऋण लिनुपर्ने अवस्था आएको राईको भनाइ छ । बुनेका नाङ्ला–डाला पनि त्यत्तिकै घरभित्र रहेका उहाँको भनाइ छ ।
गाउँमा पाइने बाँस र निगाँलोबाट बुनिएका घरायसी सामग्री घरघरमै थन्किएका छन् । घरायसी सामग्री उत्पादन गर्ने व्यक्तिहरूले सामान्य खर्चको समस्याको सामना गर्नु पर्ने अवस्था थिएन, तर अहिले आएर सामग्रीहरू बिक्री गर्न नसक्दा समस्याको सामाना गर्नुपरेको छ ।
'जतिखेर जे कुरा समस्या पर्यो त्यति नै बेला घरमा बुनेर राखेका डोको डालो जे छ गाउँमा बेचेर घर खर्च चलाउने गरेको थिएँ, यसपटक गाउँ हिँड्न नै बन्द भएपछि समस्या भएको छ ।' जिल्लाको लिखु गाउँपालिका वडा नं. ६ का चोपबहादुर तोलाङ्गेको भनाइ छ । 'गाउँघरमा एक ठाउँबाट अर्को ठाउँ जान समस्या छ, बुनेका डोका डाला सबै घरमा थन्क्याएर राखेका कारण अब भात खानका लागि भए पनि ऋण लिनुपर्ने अवस्था आएको छ ।' उहाँले दुखेसाे गर्नुभयाे ।
व्यावसायिक रुपमा भन्दा सामान्य घरखर्च र नुनतेल, खाद्यन्नको जोहो गर्नका लागि घरेलु सामग्री डोको डालो बुन्नेहरू मात्र नभएर विभिन्न घरेलु सामान उत्पादन गर्नेहरू ग्रामीण क्षेत्रमा धेरै छन् । यस्ता कार्यमा संलग्न व्यक्तिहरू धेरै भए पनि कति जना छन् भन्ने यकिन तथ्याङ्क भने जिल्लामा कुनै पनि स्थानीय तहले राखेको देखिँदैन । स्थानीय तहमा यकिन तथ्याङ्क नहुँदा यस्ता कार्यमा संलग्न व्यक्तिहरूका लागि छुट्टै राहतको प्याकेज आउन सकेको छैन ।
'राहत भनेकै दैनिक ज्यालादारी गर्न नसक्ने दैनिक कामकाज बन्द भएर हातमुख जोर्न समस्या भएकाहरूका लागि हो । यदि कोही पाउनैपर्ने व्यक्ति छुटेको रहेछ भने पनि स्थानीय सरकार सोच्न बाध्य हुनेछ ।' सिद्धिचरण नगरपालिकाकी उपप्रमुख ईच्छाकुमारी गुरुङले भन्नुभयाे । यस्ता घरेलु सामान उत्पादन गरेर जीविका चलाउनेहरू नगरक्षेत्रमा धेरै भए पनि उनीहरूको तथ्याङ्क नभएका कारण पनि समस्या भएको बताउँदै नगरपालिकाले सकेसम्म दुई छाक हात मुख जोर्न समस्या हुनेहरूको पहिचान गरी राहत उपलब्ध गराएको र अझै कोही छुट भएकाहरूको पुनः पहिचान गरी राहतको प्याकेज ल्याउने उहाँको भनाइ छ ।
लिखु गाउँपालिका उपाध्यक्ष शान्ता ढुङ्गेलका अनुसार घरेलु सामग्री उत्पादन गर्ने व्यक्तिहरूका लागि भनेर छुट्टै प्याकेज घोषणा गरिएको नभए पनि विपन्न व्यक्ति र दैनिक कामकाज गर्न नसक्दा प्रभावित भएका व्यक्तिहरूको समूहमा भने उनीहरू समेटिएका छन् । गाउँपालिकामा भएका विपन्न तथा गरिबहरूको तथ्याङ्क सङ्कलन भइरहेको हुँदा प्रभावित सबैलाई राहत वितरण गरिने ढुङ्गेलको भनाइ छ । लिखु गाउँपालिकाका नाै वटा वडामा विपन्न तथा गरिबहरूको सङ्ख्या प्रशस्त भए पनि गाउँपालिकाले बन्दबन्दीको ७१ औँ दिनसम्म राहत वितरण गर्न सकिरहेको अवस्था छैन ।