logo
२०८१ मंसिर १३ बिहीवार



हेटौँडाका १० होटलमा क्वारेन्टाइन सञ्चालन गरिने

खुला |


हेटौँडाका १० होटलमा क्वारेन्टाइन सञ्चालन गरिने


राममणि दाहाल
हेटौँडा, जेठ २७ गते । कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटलहरूलाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याइने भएको छ ।

हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याइने भएको हो । विदेशबाट फर्किएकाहरूले प्रयोग गर्ने गरी शुल्क तिरेर बस्नका लागि मकवानपुर होटल एशोसियसनले यहाँका होटल व्यवसायीहरूसँगको समन्वयमा कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन कमाण्ड पोष्टलाई क्वारेन्टाइनमा प्रयोग गरिने होटलहरूको सूची बुझाएको छ ।

बिहान–बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिने गरी हेटौँडाका १० होटलका २०५ वटा कोठा क्वारेन्टाइनमा प्रयोगमा ल्याइने भएको छ ।

एट्याच्ड बाथरुमसहितको प्रथम श्रोणीका ५८ वटा, द्वितीय श्रेणीका १२२ र तृतीय श्रेणीका २५ कोठा क्वारेन्टाइनका लागि उपलब्ध गराइने एशोसियसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले क्वारेन्टाइनमा प्रयोग हुनसक्ने होटलको सूचि माग गरेअनुसार पठाइएको बताउँदै उहाँले भन्नुभयो, 'अहिले तोकिएको होटलको शुल्क लकडाउन अवधिको लागि मात्र हो ।'

उहाँले बस्न आउने कम्तीमा १० जनाको समूह हुनुपर्ने र सेवाग्राहीले पूर्वभुक्तानीको व्यवस्था गर्नुपर्ने बताउँदै एकाध सेवाग्राहीमात्र आउँदा कर्मचारीलगायतका व्यवस्थापनमा समस्या हुने बताउनुभयो । प्रथम श्रोणीका होटलमा एउटा कोठामा बस्दा एक जनाको दुई हजार पाँच सय र दुई जनाको तीन हजार पाँच सय रुपियाँ र द्वितीय श्रेणीका होटलमा एउटा कोठामा एक जना बस्दाको एक हजार सात सय र दुई जना बस्दा दुई हजार पाँच सय रुपियाँ एक दिनको प्याकेजसहित तय गरिएको छ । यस्तै एक दिन बसेबापत तृतीय श्रेणीको होटलमा दुई जनाको एक हजार आठ सय र एक जनाको एक हजार दुई सय रुपियाँ शुल्क सेवाग्राहीले तिर्नुपर्ने हुन्छ ।

मकवानपुरको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सरकारी क्वारेन्टाइनमा बस्न नचाहने र शुल्क तिरेर बस्न चाहनेका लागि होटलमा क्वारेण्टाइनको व्यवस्था गरिएको बताउनुभयो । 'क्वारेण्टाइनको लागि उपलब्ध गराउनसक्ने होटल र कोठाहरूको सूची माग गरेका थियौँ, प्राप्त भएको छ', उहाँले भन्नुभयो, 'स्वास्थ्य सुरक्षासहित उपयुक्त भएको भन्दै सूची आएकोले ईच्छुकले लाग्ने शुल्क तिरेर बस्नसक्नु हुनेछ ।'

उता थाहा नगरपालिकाले वडा नम्बर ६ स्थित एक रिर्सोटलाई निःशुल्क रुपमा लिएर क्वारेन्टाइनको रुपमा प्रयोग गर्दैआएको छ । नगरपालिकाको व्यवस्थापनमा क्वारेन्टाइन सञ्चालन गर्ने गरी ओम अध्याय रिट्रिट प्रा.लि. सँग सम्झौता गरेर सञ्चालनमा ल्याइएको हो । बीस वटा कोठामा २५ जनाको क्षमतासहितको उक्त रिसोर्टमा नगरपालिकाले चिकित्सकीय सेवासहित क्वारेण्टाइन सञ्चालन गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?