दीपक ज्ञवाली
बुटवल, जेष्ठ २८ गते । रुपन्देहीको मैनहियामा सोमबार राति भएको पाँच जनाको सामूहिक हत्या एकै व्यक्तिले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । अति सम्वेदनशील घटना ठान्दै अनुसन्धान गर्न आएको प्रदेश ५ प्रहरीको विशेष टोलीले यस्तो निष्कर्ष निकालेको हो ।
घटना अनुसन्धान गर्न प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारर नेतृत्वको टोली घटनाकै अर्को दिन घटनास्थलमा पुग्नुभएको थियो । बुधबार प्रेस भेटघाटमा उहाँले घटनाभित्र अनेक उतारचढाव भए पनि अहिलेसम्मकको अनुसन्धानमा हत्या एकै जनाले गरेको पाइएको बताउनुभयो । हत्या आरोपमा सोही फर्मका कामदार सुर्खेतका झसेन्द्र सिञ्जाली पक्राउ परेका थिए ।
उनले हत्या स्वीकार्दै आफूलाई चरित्रहत्या गरेकाले आवेशमा त्यस्तो गरेको भन्दै बयान दिएको रुपन्देही प्रहरीका एसपी हेम थापाले बताउनुभयो ।
पशुमाथि यौन हिंसा गरेको आरोप
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार फर्ममा काम गर्ने उनीमाथि पशुमाथि यौनहिंसा गरेको आरोप लागेपछि आफूले त्यस्तो गरेको दाबी गरेका छन् । श्रीमतीको खराब बानी र आचरणपछि सम्बन्ध बिग्रिएको र श्रीमती अन्तै गएपछि विछिप्त रहेको दाबी गर्ने उनले आफूमाथि अनेक आरोप लागेकाले होस गुमाएको प्रहरीसँग बयान गरेका छन् । तनावमा रहेको उनले मानसिक सन्तुलन ठिक नदेखिएको स्थानीयको भनाइ छ । तर उनले समय समयमा कुरा फेर्दै आएका छन् ।
तीन दिनपछि शव व्यवस्थापन
तिलोत्तमा नगरपालिका, फर्म सञ्चालक र स्थानीय पीडित परिवारबीच बुधबार भएको वार्तामा दाहसंस्कार, काजकिरिया जस्ता प्रयोजनका लागि नगरपालिका र फर्म सञ्चालकले रकम उपलब्ध गराउने सहमति भएपछि शवहरूको व्यवस्थापन भएको छ । ती शवहरू अस्पतालको शव गृहमा राखिएका थिए ।
सहमति अनुसार मृतकका प्रत्येक परिवारलाई फर्म सञ्चालक कृष्णबहादुर पुनले जनही एक लाख र तिलोत्तमा नगरपालिकाले जनही २५ हजार रुपियाँ उपलब्ध गराउने छन् । वार्तामा तिलोत्तमा नगरपालिकाका प्रमुख वासु घिमिरे, घटना भएको गङ्गादेवी पशु फर्मका सञ्चालक पुन, मृतकका आफन्त, स्थानीयलगायतको सहभागिता थियो ।
तर घटनामा मृत्युभएका परिवारका दुई जीवित बालकहरूको भविष्यबारे केही सम्बोधन नगरिएको स्थानीयको गुनासो छ ।