logo
२०८१ बैशाख २७ बिहीवार



पाल्पामा पत्ता लाग्यो अनौठो गुफा

खुला |


पाल्पामा पत्ता लाग्यो अनौठो गुफा


विश्वास रेग्मी

काठमाडौँ, जेठ ३० गते । पाल्पामा एक अनौठो गुफा पत्ता लागेको छ । तानसेन नगरपालिका–१४, अर्गलीस्थित रनुवा भन्ने ठाउँमा उक्त गुफा पत्ता लागेको हो । स्थानीय युवाले आफ्नै पहलमा गुफाबारे थप तथ्य पत्ता लगाउने प्रयास गरेका हुन् ।
सिद्धगुफा नाम दिइएको उक्त गुफाको लम्बाइ करिब ४० मिटर रहेको स्थानीय दुर्गाराज पान्डेले जानकारी दिनुभयो । रनुवास्थित कोलाचौर मन्दिरनजिकै गुफा रहेपनि अहिलेसम्म यसबारे सामान्य अध्ययन पनि सुरु भएको थिएन । स्थानीय युवाले लकडाउनको उपयोग गर्दै गुफाबारे थप अध्ययन गरेका हुन् । गुफाको नाप लिनेदेखि, सरसफाइ गर्ने र सिँढी निर्माण गर्ने काम पूरा भएको पान्डेले बताउनुभयो । त्यस्तै, गुफाभित्रको साँघुरो क्षेत्रमा हिँडडुल गर्न सजिलो बनाउने प्रयास पनि भइरहेको उहाँले बताउनुभयो ।
गुफाभित्र कलात्मक आकृति देख्न सकिन्छ । आकृतिसहित यसको बनावटले गुफालाई थप अनौठो बनाएको छ । गुफाको संरक्षण गर्दै यसभित्र आवतजावत सहज बनाउन सके आन्तरिक पर्यटक भित्र्याउन सकिने स्थानीयको विश्वास छ । पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गम क्षेत्रनजिकै रहेकोले पनि छिमेकी जिल्लाबाट गुफा दर्शनका लागि पर्यटक ल्याउन सकिने उनीहरूको भनाइ छ । तानसेन–रिडी–तम्घास सडकखन्डको अर्गलीस्थित देउराली बजारबाट डेढ किलोमिटरको दूरीमा गुफा अवस्थित छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?