चन्द्रप्रकाशर्मा । अर्जुन काफ्ले
पोखरा, जेठ ३० गते । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमण पुष्टि भएका ३७ जनामध्ये तीन जना क्वारेन्टाइन बाहिरका रहेका छन् । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित भेटिएका प्राय भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेकोमा शुक्रबार पुष्टि भएका तीन जना क्वारेन्टाइन बाहिरका रहेको जनाइएको छ ।
शुक्रबार नयाँ सङ्क्रमित पुष्टि भएका स्याङ्जाका २२ जनामध्ये तीन जना र पर्वतका १३ जनामध्ये एक जना स्थानीय समुदायका व्यक्ति रहेको जनाइएको छ । गण्डकी प्रदेशमा हालसम्म पुष्टि भएका १८८ जना सङ्क्रमित मध्ये पाँच जनाबाहेक सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेका रहेका थिए ।
पोखरास्थित मणीपाल शिक्षण अस्पतालमा उपचाररत पर्वतका ३५ वर्षीय युवक केही दिनअघि मोटरसाइकल दुर्घटनामा परी उपचारका लागि अस्पताल पुगेका थिए । गाउँमा माछा मारेर जीवीकोपार्जन गर्दै आइरहेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्रास बढेको पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।
यस्तै, स्याङ्जाको गल्याङ नगरपालिकाले गल्याङ बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा रहेका १८ जनामा एकै दिन कोरोना सङ्क्रमण भएको थियो । तीमध्ये दुई जना सोही क्वारेन्टाइनमा सरसफाइ गर्ने व्यक्ति रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएका सरसफाइकर्मी श्रीमान श्रीमती रहेको र नियमित क्वारेन्टाइन र घरमा आवातजावत गर्ने गरेकाले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
अहिलेसम्म प्राय भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूमा सङ्क्रमण देखिएकोमा क्वारेन्टाइन बाहिरका व्यक्तिमा सङ्क्रमण देखिन थालेपछि त्रास बढेको छ । यसअघि पोखरा महानगरपालिका वडा नं. ८ का एक व्यक्ति र लमजुङका एक बालकलाई काठमाडौँमा उपचारको क्रममा सङ्क्रमण देखिएको थियो । शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये स्याङ्जाका २२ जना, पर्वतका १३ जना, तनहुँ र नवलपरासीका १/१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।