अर्जुन काफ्ले
स्याङ्जा, असार १ गते । कोरोना सङ्क्रमित भएका वालिङ नगरपालिका - १३ का एकै घरका तीन जनासहित चार जनाले कोरोना जितेर घर फर्किएका छन् ।
जिल्ला अस्पतालको आइसोलेसनमा रहेका तीन जना पुरुष र कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका एक जना महिलाको पीसीआर परीक्षण नेगेटिभ आएपछि घर पठाइएको हो ।
कोरोना जितेर घर फर्कनेहरूमा वालिङ नगरपालिका - १३ का २०,२६ र २९ वर्षका तीन जना पुरुष र ३९ बर्षकी महिला रहनुभएको छ । जेठ १३ गते एक जना र जेठ १५ गते दुई जना पोखराको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका युवा जिल्ला अस्पतालको आईसोलेसनमा उपचाररत रहेका थिए ।
युवाहरूको उच्च मनोबल, धैर्य तथा आत्मबलले नै कोरोनालाई जित्न सफल भएको जिल्ला अस्पतालकी मेडिकल अधिकृत डा. अन्जु अर्यालले बताउनुभयो । कालिका सामुदायिक अस्पताल हेलूको आइसाेलेसनमा उपचाररत महिलासमेत कोरोना निको हुनुभएको हो । जेठ १५ गते कोरोना पोजिटिभ देखिएकी महिला यसअघि जिल्लामा महिलाको लागि छुट्टै आइसाेलेसन नहुँदा पोखरासमेत लगिएको थियो ।
एकै घरका पाँच जना भारतबाट आएकोमा चार जना सङ्क्रमित भएकोमा एकै दिन तीन जना कोरोनालाई जितेर घर फर्केका हुन् । जेठ १५ गते सङ्क्रमित तीन जना एकै घरका आमा, छोरा र देवर हुने भने महिलाका श्रीमान जेठ २४ गते सङ्क्रमित भएर आइसोलेनमा रहेका छन् । चार जना डिस्चार्ज भएसँगै स्याङ्जामा सात जना कोरोना निको भएका छन् । जिल्लामा कोरोना सङ्क्रमित ६० पुगेका छन् भने एक जनाको निधन भएको छ ।