जयकृष्ण यादव
इनरुवा, असार २ गते । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको दमकल वर्षौंदेखि मर्मत सम्भार नभएका कारणले आगलागीका घटनामा करौडोँको क्षति भएको भन्दै यहाँका महिलाहरूले बिग्रेको दमकल मर्मत र नयाँ दमकल खरिद गर्न भिक्षाटन सुरु गरेका छन् ।
मङ्गलबार महिलाहरूले सदरमुकाम इनरुवा-१ को शान्तिचौकबाट प्रतिव्यक्ति वा परिवारसँग पाँच रुपियाँका दरले साङ्केतिक सहयोग स्वरुप भिक्षा माग गरेको महिला अगुवा कानुन अधिकारीले जानकारी दिनुभयो ।
नगरभरि सङ्कलन गरेको दुई कार्टुन रकम जस्दाको तस्तै इनरुवा नगरप्रमुख राजन मेहता र कार्यपालिकालाई बुझाएको अधिकारीले बताउनुभयो । तीन दिनअघि मात्रै सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको मुख्य बजारमा भीषण आगलागी हुँदा नजिकमा दमकल नभएकाले आगो नियन्त्रणमा समस्या भएको देखेर साङ्केतिक दबाव र सहयोग स्वरुप भिक्षा माग्न सुरु गरेको अर्का महिला अगुवा तोया गिरीले बताउनुभयो ।
गिरीका अनुसार इनरुवाको दमकल वर्षदिनदेखि बिग्रेको र मर्मतसम्भार नगरेका कारण यहाँका दर्जनौँ आगलागी नियन्त्रणमा समस्या भएको भन्दै आफूसहित महिलाहरूले साङ्केतिक भिक्षाटन सुरु गरेको हो । महिला नेतृ तोया गिरी, कानुन अधिकारीसहितको अगुवाइमा सयौँ व्यक्तिको सहभागितामा भिक्षाटन गरेको छ । भिक्षाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पु, नेता पोष्टकुमार नेपाल, रामप्रसाद मेहता, इनरुवा नगर अध्यक्ष तीर्थ अधिकारी, रमेश तिम्सिना सहितकाले समेत ५/५ रुपियाँ भिक्षाटनमा सहयोग गर्नुभयो । सहयोग गर्नेहरूले छिटोभन्दा छिटो साङ्केतिक सहयोगको दबावमा दमकल ल्याउनुपर्ने र नयाँ अर्को दमकलसमेत किन्नुपर्ने माग गरेका छन् । नगरपालिकाको एक करोड बढी रकम इन्धनमा खर्च हुने गरेको लाख रुपियाँ खर्च गरेर मर्मत हुने दमकल मर्मतसम्भार नगरेकाले नगार माहिलाहरूलाई दमकलका भिक्षा माग्न बाध्य गरेको महिला अगुवा टीका आर्चायले बताउनुभयो ।
उहाँले इनरुवा नगरपालिका गरिब भएकाले दमकल किन्न नसक्ने अवस्थामा पुगेकाले ५ रुपियाँ उठाउने अभियानमा लागेको बताउनुभयो । दमकल किन्नका लागि भन्दै इनरुवाका स्विपर, रिक्सा, ठेल्ला, सिटी सफारी चालक, जन मजदुरी गर्नेहरू, बाटो हिँड्ने बटुवासहित उद्योगी व्यवसायी, शिक्षक, बुद्धिजीविसमेतले ५/५ रुपियाँ सहयोग गरेको अभियानमा सहभागी रमेश तिम्लिसिनाले जानकारी दिनुभयो ।