महोत्तरी समाचारदाता
जलेश्वर, असार ५ गते । जिल्लामा कोरोना सङ्क्रमणको चाप अनुसार आइसोलेसन अभाव भएपछि जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र महोत्तरीले जिल्लामा थप आठ सय शय्याकाे आइसोलेसन बनाउने निर्णय गरेको छ ।
हाल जिल्लामा जलेश्वर अस्पतालमा एक सय शय्या तथा पिपरा प्राथमिक स्वास्थ्य केन्द्रमा ७५ शय्या गरी १७५ शय्याकाे आइसोलेसन मात्रै रहेको छ । पिपरामा अहिले ४३ शय्याको आइसोलेसन मात्रै सञ्चालनमा रहेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बिरामीको सङख्या बढदैगएको र आइसोलेसनको अभाव भएको कारणले सर्वपक्षीय बैठक गरी जिल्लामा थप आठ सय शय्याको आइसोलेसन बनाउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले रामगोपालपुरमा एक सय, राविम क्याम्पस जलेश्वरमा एक सय, सम्सी गाउँपालिकामा तीन सय, मटिहानी नगरपालिकामा एक सय, बर्दिबास नगरपालिकामा एक सय तथा लोहारपट्टी नगरपालिकामा एक सय शय्या गरी अहिले थप आठ सय शय्याको आइसोलेसन बनाउन निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँले एक सय शय्याको आइसोलेसनमा बिरामीलाई आवश्यक पर्ने बेड, झुल, बाल्टिन, मग हुनुपर्ने र आइसोलेसनमा मोबाइल ट्वाइलेट १० थान र सीसीटीभी पाँच थान लगाउनुपर्ने निर्णय गरिएको बताउनुभयो ।
त्यसैगरी, सशस्त्र प्रहरी बलको जिल्ला कमाण्डको २० तथा सम्सी बीओपीका ५५ जनालाई पीसीआर टेष्ट गर्नुपर्ने निर्णयका साथसाथै सुरक्षा निकायका जनशक्तिकाे कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णयसमेत गरिएको बताउनुभयो ।
समितिको असार ३ गतेको बैठकले पिपरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको ४३ शय्याको आइसोलेसनलाई ७५ शय्या बनाउने निर्णय गरिएको थियो ।