शर्मिला पाठक
काठमाडौँ, असार ५ गते । आगामी दुई महिनाभित्र सक्ने गरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तीव्र रुपमा अघि बढेको छ । गत वैशाखमा नै सक्ने गरी काम अघि बढिरहे पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण देश पूर्ण रुपमा बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन ।
लामो समयपछि जेठको पहिलो सातादेखि नै निर्माणको काम केही शुरु गरिए पनि कामदारको अभावका कारण काम हुन सकेको थिएन । सरकारले केही दिनअघिदेखि बन्दाबन्दीलाई केही खुकुलो बनाएपछि अहिले निर्माणको काम आशानुरुप भइरहेको राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ ।
अहिले रानीपोखरीको पुनः निर्माणको कामअन्तर्गत पोखरीमा माटो लगाउने काम सकिएको छ भने बालगोपालेश्वर मन्दिरको काम भइरहेको छ । हालसम्म पोखरीको ७५ प्रतिशत काम सकिएको प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार हाल ३२ कामदारले दैनिक काम गरिरहेका छन् । सहज भएसँगै थप कामदार ल्याउने तयारी भएको छ । पोखरीमा कस्तो र कहाँबाट पानी राख्ने विषयमा भने छलफल भइरहेको मानन्धरले जानकारी दिनुभयो ।
विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।
कोरोना भाइरसका कारण केही समय ढिला भए पनि अबको केही महिनाभित्र पोखरीको पुनःनिर्माणको कामले पूर्णता पाउने प्राधिकरणको जिकिर छ ।
शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न नसकेको हो । मन्त्रिपरिषद्को विसं २०७५ माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो ।
मन्दिर पुरानै शैली (ग्रन्थकूट÷शिखर) शैलीमा पुनःनिर्माण गर्न गत वर्ष असार २४ गते प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी शेयर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।
गोरखा भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि रु २५ करोड बजेट विनियोजन भएको छ । चन्द्रशम्शेरको पालामा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।
राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन पाँच वर्ष लगाएर विसं १७२५ मा ‘न्हु पुखु’को निर्माण गराई विसं १७२७ मा शिलापत्र राखेका थिए । पोखरीमा गोसाइँकुण्डलगायत नेपाल र भारतका १०८ विभिन्न तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोअनुसार उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना भएको थियो ।