सिराज खान
नेपालगञ्ज, असार ११ गते । राप्तीनदी वरिपरि पर्ने बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वडाहरू बाढी र डुबानको अत्यधिक जोखिममा रहेकोले ती क्षेत्रमा बाढी आउनुपूर्व नै आपतकालीन खोज, उद्धार र सचेतनाको सबै तयारी पूरा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
राप्तीनदी वरिपरिका क्षेत्रहरूमा बर्सेनि बाढी आउने र डुबान हुने गरेकोले मनसुन पूर्वतयारी योजना, २०७७ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर सोहीबमोजिम जोखिम भएका क्षेत्रमा पहिलेदेखि नै सचेतना, उद्धार र राहातको सबै तयारी पूरा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।
उहाँले दुई वटा योजना बनाएर राप्तीवरिपरिका सबै स्थानीय तहमा राहत तथा उद्धार सामाग्रीहरू पुर्याउनुका साथै नरैनापुरको गङ्गापुरमा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पमासमेत उद्धार सामग्री पठाएर प्रहरीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । यसैगरी सो क्षेत्रका सबै स्थानीय तहलाई आवश्यकता अनुसारको तयारी खाना प्याक गरेर राख्ने पत्र पठाइसकिएको तथा रेडक्रस सोसाइटीको गङ्गापुरमा रहेको गोदाममा एक सय जनालाई पुग्ने गरी कम्बल, त्रिपाल र भाडाकुँडा स्टकमा रहेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो ।
उहाँले सम्भावित जोखिम क्षेत्रका जनप्रतिनिधि, सुरक्षा निकाय र रेडक्रस सोसाइटी सम्बद्धहरूलाई अलर्ट बनाएर राखिएको बताउनुभयो ।
बाढीको पूर्वसूचना दिने व्यवस्थाले खतरा घट्यो
राप्ती नदीले खतराको निसान पार गरेलगत्तै बाँकेको कुसुममा राप्ती नदीछेउमा रहेको बाढी मापन केन्द्रले जानकारी गराउने व्यवस्था मिलाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकीका अनुसार कुसुमबाट बाढीसहितको नदी जोखिम क्षेत्रसम्म पुग्न करिब चारदेखि पाँच घण्टा लाग्ने भएकोले तत्काल जोखिम क्षेत्रमा खतराको साइरन बजाइने हुँदा त्यहाँका बासिन्दाहरू बाढी त्यहाँ पुग्नुभन्दा पहिले नै अत्यावश्यक सामान लिएर अग्लो र सुरक्षित ठाउँमा पुग्नेछन् ।
बस्तीमा बाढी आउनुभन्दा चार पाँच घण्टा अघि नै साइरन बजाएर सूचना दिने गरिँदा क्षति र खतरा घटेको उहाँले बताउनुभयो । राप्ती नदीमा पानीको सतह ५.४० मिटरभन्दा बढी पुगेपछि सम्भावित जोखिम भएका क्षेत्रहरूमा साइरन बजाउने गरिन्छ ।
यसैबीच जिल्ला आपतकालीन कक्षले उद्धार सामग्रीसहित उद्धार टोलीलाई राप्तीसोनारी, डुडुवा र नरैनापुरका जोखिम क्षेत्रमा सतर्क अवस्थामा राखेको जानकारी दिएको छ । नदी वरिपरिका गाउँमा पानी पस्ने अवस्था आउनेबित्तिकै उद्धार टोली गाउँमा पुगिसक्ने गरी तयारी अवस्थामा रहेको जिल्ला आपतकालीन कक्षले जनाएको छ ।