जनार्जन खत्री
सर्लाही, असार १८ गते । सर्लाहीमा बिहीबार बिहान पानीसँगै परेको चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको बाग्मती नगरपालिका १०, नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको मृत्यु भएको हो । पासवानलाई बाग्मती नगरपालिका-८, दहलमान टोलकी सुनमाया बस्नेतको खेतमा धान रोप्न जाँदा चट्याङ लागेको स्थानीय बासिन्दासमेत रहनुभएका वडा नं. ८ का वडासचिव देवीबहादुर मगरले जानकारी दिनुभयो ।
वडासचिव मगरका अनुसार चट्याङ लागेर अचेत भएका युवकलाई तत्कालै उपचारका लागि बरहथवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । चट्याङ पर्दा युवकसँगै धान रोपिरहनुभएकी बाग्मती १० कै हीरा मुखिया पनि अचेत हुनुभएको थियो । उहाँ भने उपचारपछि सामान्य भई घर फर्किनुभएको वडासचिव मगरले बताउनुभयो ।
यस्तै भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–१, मा चट्याङ लागेर सोही ठाउँका ३५ वर्षीय वरुण सहनी घाइते हुनुभएको छ । उहाँलाई परिवारका सदस्यले उपचारका लागि भारतको सीतामढीतर्फ लगेकाे प्रहरीले जनाएको छ । सर्लाहीमा बिहीबार बिहान चट्याङसहित केहीबेर भीषण वर्षा भएको थियो ।