गोरखापत्र अनलाइन
काठमाडौँ, असार २४ गते । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको २०७७ असार २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षक र प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उक्त निर्णयबाट पदोन्नति भएका नौ जनामध्ये सात जना प्राविधिक प्रहरी अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको हो ।
दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू कृष्णबहादुर धिताल, ई.दामोदर कँडेल तथा प्राविधिक प्रहरी नायब उपरीक्षकहरू विशाल ज्ञवाली, सुरेश विष्ट, शौरभ भण्डारी, विजयकुमार शर्मा र ईशमाया केसी रहनुभएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै व्यक्तिगत, पारिवारिक र व्यवसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्राविधिक समूह सङ्गठनको महत्त्वपूर्ण आधार भएकोले प्राविधिक प्रहरी अधिकृतको रुपमा जिम्मेवारी थप भएको बोध गरी संयमता र उच्च व्यावसायिक निष्ठाका साथ परिचालन हुन उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
सङ्गठनको विकासका लागि प्राविधिक पक्षको विशेष महत्त्व हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भुकम्प लगायत विषम परिस्थितिमा प्रहरीको प्राविधिक पक्षले नै देशभर सूचना आदानप्रदान लगायतका काम गर्न सफल भएको बताउनुभयो । व्यावसायिक दक्षता, निष्ठा र कर्तव्यबोधले व्यक्तिको उचित मूल्याङ्कन गर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्राविधिक सेवा अन्तर्गतका प्रहरीले आफ्नो दक्षतालाई आवश्यकता अनुसार उचित प्रयोग गरी प्रहरी सेवाको विश्लेषण गर्नुपर्ने उहाँले उल्लेख गर्दै प्रहरी समाजकै उपज भएकोले व्यावहारिक पक्षलाई समेत ध्यान दिँदै कानुनको कार्यान्वयन गर्न सहयोग पुर्याउनुपर्ने उहाँले बताउनुभयो । प्रविधि र प्रमाणयुक्त अपराध अनुसन्धानले नै समाज अपराध मुक्त बनाउन सकिने भएकोले यसतर्फका जनशक्तिले आफूलाई अपडेट गरी प्रविधिमैत्री बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी सङ्गठन देशको सङ्घीय संरचना अनुसार समायोजनको सङ्घारमा रहेको सन्दर्भमा प्रहरी कर्मचारीहरू विचलित नभई उच्च मनोबलका साथ शान्ति सुरक्षा कायम गरी विषम परिस्थितिमा पनि परिचालन हुन तयार रहनुपर्ने उहाँले चर्चा गर्नुभयो ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक कृष्णबहादुर धितालले समय अनुसार हुने मूल्याङ्कनले प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा थप दत्तचित्त हुने प्रेरणा दिएको चर्चा गर्दै सङ्गठनको नीति अनुरुप पेशागत जिम्मेवारी अझै उत्कृष्ट ढङ्गबाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै सोही मितिमा पदोन्नति भएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार सोम पौडेललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रहरी नायब उपरीक्षक सत्यनारायण जयसवाललाई बाग्मती प्रदेश प्रहरी कार्यालयबाट दर्ज्यानी चिन्ह सुशाेभन गरिने कार्यक्रम रहेको उक्त अवसरमा जानकारी गराइयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।