काठमाडौँ, साउन २ गते । चन्द्रागिरी नगरपालिका–२, पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने बा.११ च ६३ नम्बरको स्कारपियो गाडीका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–२, चौकी टोल बस्ने ४४ वर्षीय प्रेमप्रसाद घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएको प्रहरीले उक्त ठाउँमा सवारी जाँच गर्ने क्रममा घिमिरेलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७७ असार २२ गते मृत्यु संस्कारको लागि काठमाडौँ आउने प्रयोजनार्थ जारी गरेको म्याद सकिएको सवारी पास लिई ६ जना यात्रुहरू राखी चित्लाङ–काठमाडौँ शाखा सडक प्रयोग गरी काठमाडौँ प्रवेश गर्दैगरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उक्त गाडीमा सवार यात्रुहरूलाई आवश्यक व्यवस्थापनको लागि सामाखुशीमा रहेको राधास्वामी होल्डिङ सेन्टरमा पठाउनुका साथै चालक घिमिरे उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान तथा कारबाही भइरहेको उक्त वृत्तले जनाएको छ ।