logo
२०८१ मंसिर १३ बिहीवार



नक्कली नोट सहित तीन जना पक्राउ

खुला |


नक्कली नोट सहित तीन जना पक्राउ


शिवशंङ्कर मिश्र
बारा, साउन ४ गते । जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको संयुक्त टोलीले नक्कली भारतीय तथा नेपाली नोट सहित तीनजनालाई शनिवार पक्राउ गरेको छ ।

उनीहरुलाई महागढीमाई नगरपालिका वडा नम्बर–२ बरियारपुर चोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–६ निवासी ३० वर्षीय नरेन्द्र प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका–५ निवासी २६ वर्षीय मनोज कुमार साह तेली र भारत विहार मोतिहारी जिल्ला पूर्वीचम्पारण थाना झरौखर ग्राम कोरैया–१० बस्ने २५ वर्षीय सुधीर कुमार कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण प्रसाद पगेनीले जानकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा तीनै कारोबारीलाई पछयाउँदै जादा बरियारपुरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । प्रहरीको संयुक्त टोलीले तीनैजनाले बोकेको झोला नियन्त्रणमा लिई चेकजाँच गर्दा ती झोलाहरुबाट एक हजार दरको नेपाली नोट एक हजार चार सय ६५ थान, एक सय दरको सात सय ४६ थान, पाँच सय दरको नक्कली भारतीय नोट दुई सय ८४ थान र ५० दरको सात सय छ थान जाली नोट फेला परेको प्रहरी उपरीक्षक पगेनीले बताउनुभयो ।

उनीहरुलाई नोट सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको छ । करिब दुई सातादेखि लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको टोलीले तीनै जनालाई सूचनाको आधारमा पछयाउदै आएको थियो । पछयाउने क्रममा नै उनीहरुलाई जाली नोट सहित रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुबाट बयान लिने काम समेत शुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको माध्यमबाट जाली नोटका नाइके तथा थप कारोबारीहरुको बारेमा पत्ता लाग्ने प्रहरी उपरीक्षक पगेनीले बताउनुभयो ।

पक्राउ परेकाहरुको माध्यमबाट जाली नोट छाप्नेहरुको नजिक सम्म पुग्ने तथा कारोबारमा संलग्न रहेका अन्य केही व्यक्तिहरुको नाम पनि खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरु भारतमा छापिएको नोट नेपाल भित्रियाएको खुलेको उहाँले भन्नुभयो । पक्राउ परेकाहरु जाली नोटसंगै लागु औषधको पनि कारोवार गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?