जनार्जन खत्री
सर्लाही, साउन ६ गते । सर्लाहीको बाग्मती नगरपालिका–१२ स्थित बाग्मती नदीको बाढीमा फसेका दुई जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
मङ्गलबार बिहान बाग्मती नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा झिक्न जाँदा स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ खोलामा फस्नुभएको थियो ।
नदीको बीचमा पानी कम भएको ठाउँमा अड्किनुभएका उहाँहरूलाई ईलाका प्रहरी कार्यालय, कर्मैयाबाट प्रहरी नायब निरीक्षक (सई) मोहनमणि कटुवालको कमाण्डमा खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिनुभयो ।
अवस्था सामान्य रहेका दुवैलाई उद्धारपछि घर पठाइएको डीएसपी कुँवरले बताउनुभयो । वर्षा भइरहेको अहिलेको अवस्थामा खोला तथा नदीमा अचानक बाढी आउन सक्ने भएकाले दाउरा टिप्न जाने, माछा मार्नेजस्ता काम नगर्न र तटीय क्षेत्रमा नजान स्थानीय प्रशासनले आग्रह गरेको छ ।