सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन
१. कार्यालय सञ्चालन र व्यवस्थापनका प्रमुख आयामहरू के–के हुन् ? सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन कसरी गर्न सकिन्छ ?
कार्यालयको लक्ष्य एवम् उद्देश्य प्राप्तिका लागि गरिने सबै कार्यहरू कार्यालय सञ्चालन र व्यवस्थापन हुन् । यसमा कार्यालयको योजना तर्जुमा गर्नेदेखि योजना कार्यान्वयन गर्ने, कर्मचारी तथा बजेट व्यवस्था गर्ने, समन्वय गर्ने, निर्देशन गर्ने, अनुगमन गर्ने, मूल्याङ्कन गर्नेलगायतका कार्यहरू पर्दछन् । यी कार्यहरूलाई व्यवस्थित गर्न केही विभिन्न पक्षहरूको आवश्यकता पर्दछ, जसलाई कार्यालय सञ्चालन र व्यवस्थापनका प्रमुख आयामका रूपमा लिन सकिन्छ । जुन निम्न छन् ः
क. मितव्ययिता
– कम लागत तथा तोकिएको समयमा गुणस्तरीय कार्यसम्पादन गर्ने गरी व्यवस्थापनले कार्य गर्नुपर्दछ ।
ख. कार्यदक्षता
– उपलब्ध साधन–स्रोतको अधिकतम परिचालन गरेर लक्ष्य हासिल गर्नुपर्दछ ।
ग. प्रभावकारिता
– लक्ष्यअनुसारको प्रगति हासिल गरेर आफ्नो प्रभावकारिता अभिवृद्धि गर्नुपर्दछ ।
घ. पारदर्शिता
– व्यवस्थापनले आफूले गरेका कार्यहरू तथा निर्णयहरू सरोकारवालाहरूलाई जानकारी गराउनुपर्दछ ।
ङ. जवाफदेहिता
– व्यवस्थापनले आफूले गरेका प्रत्येक कार्यहरूको सम्बन्धमा उठेका सवालहरूको उत्तर दिनुपर्दछ ।
च. सदाचार एवम् नैतिकता
– व्यवस्थापनले गरेका कार्यहरूमात्र नभई, व्यवस्थापकको बानी व्यहोरा एवम् चरित्र स्वच्छ हुनुपर्दछ । सेवाग्राहीमैत्री व्यवहार हुनुपर्दछ ।
सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन
– कार्यालयमा इन्टरनेट, कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय उपकरणहरूको प्रयोग गरेर कार्यालयले गर्ने सम्पूर्ण कार्यलाई यही माध्यमबाट गरी कार्यालयलाई पूर्ण रूपमा पेपरलेस अफिस बनाउनु सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन हो । सूचना प्रविधिको उपयोगिताको क्षेत्र बहुआयामिक हुनाले कार्यालयको कार्यप्रकृति एवम् कार्यक्षेत्रका आधारमा यसलाई प्रयोग गर्न सकिन्छ । यसले मानिस, मालवस्तु, जग्गा, भवन, सवारीसाधनलगायतका सबैको सूचनालाई व्यवस्थित गर्दछ । देहायका उपायहरू अवलम्बन गरेर कार्यालयलाई सूचना प्रविधिमैत्री कार्यालयका रूपमा व्यवस्थापन गर्न सकिन्छ ः
– कार्यालयको वेबसाइट निर्माण गरेर,
– विद्युत् आपूर्तिको नियमित व्यवस्था गरेर,
– कम्प्युटर प्रणालीको पूर्ण प्रयोग गरी सेवा प्रवाह गरेर,
– सीसी टीभीको प्रयोग गरेर,
– टेलिफोन, फ्याक्स, स्क्यानर, मोबाइल, रेडियो, टेलिभिजनलगायतका विद्युतीय औजारको प्रयोग गरेर,
– इन्टरनेटमार्फत अनलाइन सेवा प्रदान गरेर,
– फेसबुक, ट्वीटर, स्काइप, भाइबर, इन्स्टाग्राम, इमोजस्ता सामाजिक सञ्जालको प्रयोग गरेर,
– सूचना प्रविधिमैत्री दक्ष कर्मचारीको व्यवस्था गरेर,
– सूचना प्रविधिको पूर्ण सुरक्षा तथा गोपनीयताको सुनिश्चितता गरेर ।
अन्त्यमा, अहिलेको युग सूचना प्रविधिको युुुग हो । यसलाई व्यक्तिको व्यक्तिगत जीवनदेखि घरपरिवार, कार्यालय, समाज, राष्ट्र हुँदै सम्पूर्ण विश्वमा प्रयोग गर्न सकिने भएकाले आज सूचनाको सञ्जाल यसरी विस्तार र विकास भएको पाइन्छ । त्यसैले कार्यालयमा उल्लिखित उपायबाट यसको पूर्ण प्रयोग गरेर काममा गुणस्तर, छिटोछरितोपन एवम् अनु्शासन कायम गर्दै कार्यालयलाई आधुनिक बनाउन सकिन्छ ।
२. नेपालको सरकारी निकायहरूले अवलम्बन गरेको लेखा प्रणाली र यसका सबल तथा दुर्बल पक्षहरूबारे लेख्नुहोस् ।
नेपालको सरकारी निकायहरूको आय र व्ययको व्यवस्थित अभिलेख र सोको यथार्थ प्रतिवेदन गर्न अवलम्बन गरिएको लेखा प्रणाली नयाँ स्रेस्ता प्रणाली हो । यो स्रेस्ता विसं २०१९ देखि लागू भई आव २०२४÷२५ सम्म नेपालभर क्रमिक रूपमा लागू गरिएको थियो । केन्द्रीयस्तर र कार्यसञ्चालन गरी दुवै स्तरमा लागू गरिएको यो लेखा प्रणालीमा नगदमा लेखा राखिन्छ । यसमा बाँकी लेनदेनको हिसाब हुँदैन । यो लेखा दोहोरो लेखा प्रणालीमा आधारित छ । विनियोजन, राजस्व, धरौटी, जिन्सी र आयोजनाको अलग–अलग लेखा राखिँदै आएको यस लेखा प्रणालीका सबल र दुर्बल पक्षहरू निम्न छन् ।
सबल पक्षहरू
– दोहोरो लेखामा आधारित भएकाले त्रुटी एवम् छलकपट नहुने, भएमा सजिलै पत्ता लगाउन सकिने,
– नगदमा लेखा राखिने हुँदा सरल,
– लेखा राख्न निश्चित फाराम तोकिएको,
– बजेट नियन्त्रणको व्यवस्था,
– आन्तरिक नियन्त्रणको व्यवस्था,
– सबै कार्यालयमा एकरूपता,
– लेखा परीक्षणको अनिवार्य व्यवस्था ।
दुर्बल पक्षहरू
– नगदको मात्र लेखा राख्दा सरकारी कारोबारको यथार्थ अवस्था नदेखिनु,
– बढ्दो बेरुजु नियन्त्रण हुन नसक्नु,
– लेखा नतिजामूलक हुनुपर्नेमा प्रक्रियामूलक भएको,
– खर्च नियन्त्रण प्रभावकारी रूपमा गर्न नसकिएको,
– पारदर्शिताको पक्ष कमजोर रहेको ।
३. अर्थतन्त्रमा बजेट घाटाको प्रभावबारे चर्चा गर्नुहोस् ।
सरकारी खर्चको तुलनामा सरकारी आय कम भएको अवस्था बजेट घाटा हो । यो न्यून वित्तको अवस्था हो । यसलाई पूर्ति गर्न न्यून वित्त परिचालन गरिन्छ । बजेट घाटा प्रायः साधन–स्रोत कम भएका र विकासको आवश्यकता बढी भएका नेपालजस्ता देशहरूले अवलम्बन गर्दछन् । सन् १९३० मा विश्वमा आएको आर्थिक मन्दीको समस्या समाधान गर्न विकल्पका रूपमा बजेट घाटा अगाडि ल्याइएको हो । यसलाई जेएम किन्सले प्रतिपादन गरेका हुन् । नेपालमा यसलाई सरकारी बजेट प्रणालीको सुरुवात भएको साल विसं २००८ देखि नै अवलम्बन गरिँदै आइएको छ । बजेट घाटाको अवस्थामा नेपालमा सरकारले आन्तरिक तथा विदेशी ऋण परिचालन गरी न्यून वित्त पूर्ति गर्दै आएको छ । यसरी उठाएको ऋणबाट पनि खर्च जुटाउन नसकेको अवस्थामा नपुग रकम नगद मौज्दातबाट पूरा गर्ने गरेको छ ।
– बजेट घाटा पूर्ति गर्न आन्तरिक तथा विदेशी ऋण परिचालन गरिने हुँदा यसबाट अर्थतन्त्रमा निम्नानुसार प्रभाव पर्दछ ः
सकारात्मक प्रभाव
– छरिएर रहेको पुँजी एकीकृत रूपमा परिचालन हुने,
– उपयोगमा नआएको साधन परिचालन हुने,
– उत्पादनशील क्षेत्रमा लगानी विस्तार हुने,
– रोजगारी सिर्जना हुने,
– विदेशी पुँजी, प्रविधि एवम् सीपको प्राप्ति हुने,
– आर्थिक मन्दीको समस्या समाधानमा सहयोग पुग्ने,
– दैवीप्रकोपको सामना हुने,
– आन्तरिक बचत र लगानीबीचको खाडल पूरा हुने,
– भुक्तानी सन्तुलनमा सहयोग पुग्ने,
– सरकारले गर्ने र निजी क्षेत्रले गर्ने कार्यको सीमा निर्धारणमा सहयोग हुने,
– आर्थिक विकासमा सहयोग हुने ।
नकारात्मक प्रभाव
– बजेट घाटाले मुद्रा प्रदायकको मात्रा बढाउँदछ । मागको सिर्जना गर्दछ, मूल्यवृद्धि हुन्छ ।
– मागअनुसार आन्तरिक उत्पादन भएन भने आन्तरिक माग पूरा गर्न आयात बढ्दछ । निर्यात घट्दछ । यसबाट व्यापार घाटा झन् बढ्दछ ।
– व्यापार घाटा बढेर भुक्तानी सन्तुलनमा नकारात्मक प्रभाव पर्दछ । विदेशी विनिमय दरमा समेत प्रतिकूल प्रभाव पर्न सक्दछ ।
– सरकारले घाटा बजेटमार्फत आन्तरिक ऋण परिचालन गर्दा निजी क्षेत्र साधनविहीन हुन सक्ने
– विदेशी ऋणको साँवा–ब्याज भुक्तानीको मात्रा बढ्दै जाने,
– मुलुकको आन्तरिक साधन परिचालन क्षमतामा ह्रास ल्याउन सक्ने,
– परनिर्भरता बढ्दै जाने ।
४. सैनिक ऐन–२०६३ ले के–कस्ता कार्य गरेमा अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको मानिने व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् ।
सैनिक ऐन–२०६३ ले देहायको कुनै कार्य गरेमा अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको मानिने व्यवस्था गरेको छ ः
– लागूऔषध सेवन गरेमा,
– अशिष्ट, अस्वाभाविक, निन्दनीय किसिमको आचरण गरेमा वा निर्दयी भएमा,
– आफूमा शारीरिक कमजोरी वा रोग पैदा गरेमा,
– शरीर निरोगी हुँदाहुँदै रोग वा कमजोरीको बहाना गरेमा वा जानी जानी रोग लम्ब्याउने वा निको हुन नदिने कार्य गरेमा,
– आपूm वा अरू कसैलाई सेवाका लागि अयोग्य ठह¥याउने मनसायले आपूm वा अरू कसैलाई घाउ चोट पु¥याएमा,
– कुनै अधिकृत, पदिक वा बिल्लादारले सैनिक ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिलाई आपूmभन्दा तल्लो दर्जाको भनी आपराधिक बल प्रयोग गरी दुव्र्यवहार गरेमा,
– सुव्यवस्था तथा सैनिक अनुशासन कायम राख्न गर्नुपर्ने कुनै काम नगरेमा वा सुव्यवस्था तथा सैनिक अनुशासनविरुद्ध हुने कुनै काम गरेमा,
– मादक पदार्थ सेवन गरेमा,
– आफ्नो ओहोदाअनुसारको आचरण नगरेमा,
– सङ्घ, संस्था खोलेमा, सञ्चालन गरेमा वा त्यस्तो गतिविधिमा भाग लिएमा,
– कुनै पनि सैनिकलाई सैनिक ऐन वा यस ऐनअन्तर्गत बनेको नियमबमोजिमको कर्तव्य पालनासम्बन्धी तोकिएबमोजिमको कार्यमा बाहेक अन्यत्र प्रयोग गरेमा ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा