अर्जुन काफ्ले
स्याङ्जा, साउन ७ गते । वर्षासँगैको पहिरोमा पुरिएर गल्याङ् नगरपालिका-१०, गाउँस्वारामा एक जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार भएको छ ।
पहिरोले घर भत्किँदा पुरिएर ५२ वर्षीय महिला माया सारुको मृत्यु भएको हो भने २० वर्षीय छोरी नारायणी सारुलाई स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानाकारी दिनुभयो ।
राति खाना खाएर आमाछोरी सुतेकोमा बिहान स्थानीयले पहिरोले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको हो भने एक जनाको मृत्यु भएको हो । घरदेखि करिब २५ मिटर माथिबाट आएको पहिरो पुरेको अधिकारीले जानकारी दिनुभयो ।
पहिरोले पुरिएर उद्धार छोरी सारुको प्राथमिक स्वास्थ्य केन्द्र, वालिङमा उपचारपश्चात् अहिले पोखराको मोडेल अस्पतालमा उपचार भइरहेको अधिकारीले बताउनुभयो ।
यस्तै, वर्षाका कारण पहिरो जाँदा गल्याङ नगरपालिका-५, रातोपुलमा विष्णु कुँवरको घरको तल्लो तला पुरिएको छ भने तल्लो तलामा रहेका तीन वटा बाख्रा र लोकल कुखुरा २५ वटा मरेका छन् ।
घर भत्केर जोखिममा रहेका कुँवरको पाँच जनाको परिवार छिमेकीको घरमा स्थानान्तरण गरिएको अधिकारीले बतााउनुभयो ।