logo
२०८१ मंसिर १४ शुक्रवार



लुडो खेल्नेलाई प्रहरीले समात्न थाल्यो !

खुला |


लुडो खेल्नेलाई प्रहरीले समात्न थाल्यो !
सांकेतिक तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ११ गते । प्रहरीले लकडाउन खुकुलो बनेसँगै जुवातास खेल्ने खोलाउनेविरुद्ध आक्रामक रुपमा अघि बढेको छ । जुवातास मात्रै हैन पछिल्लो समय लुडो खेलमा समेत ठूलो जितहार हुने गरी खेल्ने खेलाउने कार्य भइरहेको सूचना पछ्याउँदै जाँदा शनिबार काठमाडौँबाट सात जनालाई ८७ हजार नगदसहित पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१४, सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउनेसमेत गरी सात जनालाई एक थान बोर्ड र नगद ८७ हजार ५० रुपियाँसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीद्वारा सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले पक्राउ परेकाहरूकाे नाम भने सार्वजनिक गरेको छैन । प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका आठ जनालाई छ बुक तास र नगद एक लाख १९ हजार चार सय रुपियाँसहित शनिबार दिउँसो पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित गुल्मी गाउँपालिका–४ दिगाम घर भएका ३२ वर्षीय सुलभ न्यौपानेको सुलभ होटलमा जुवातास खेलिरहेको अवस्थामा न्यौपानेलगायत नौ जनालाई नगद एक लाख तीन हजार ८७५ रुपियाँ र दुई बुक ताससहित पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यससम्बन्धी स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ नेपाल प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?