यलु जोशी
ललितपुर, साउन २१ गते । पाटनमा दीप यात्रा अर्थात मतयाः पर्व यो वर्ष कोरोनाको महामारीको कारण औपचारिक पूजामा सीमित गरी बुधबार मनाइएको छ ।
मृतक आत्माको शान्तिको कामना गर्दै गाईजात्राको भोलिपल्ट मतयाः यात्रा शुरु हुने गर्छ । पाटनको चार दिशामा अवस्थित अशोक स्तम्भभित्र रहेका चैत्य र मठ मन्दिरमा पूजाआजाका साथ पैसा अन्न आदि चढाउँदै परिक्रमा गरिन्छ ।
पाटनको मतयाः यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध रहेको पूजारी गुरुनाथ बज्राचार्यले जानकारी दिनुभयो । उहाँले यो वर्ष कोरोनाको महामारीको कारण पुजारीहरूमात्र बसेर औपचारिकतामा सीमित गरिएको जानकारी दिनुभयो ।
बाजागाजासहित शहरको परिक्रमा गर्नुपर्ने सो पर्वमा १५ जनाभन्दा बढी भेला हुन नपाउने भएकोले पुजारीहरूले मात्र परिक्रमा गरी पूजा अर्चना गरिएको बज्राचार्यले बताउनुभयो । हातमा मैनबत्ती बोकेर टङ्गल, लगनखेल, हख बहाल, पूर्णचण्डी, बुबहाल, गाबहाल, नबहील, श्रीबहाल, नटोल, पुल्चोक नागबहाल, भएर साँझ पुनः चक्रबहिलमा पुगेर यात्रा टुङ्ग्याउने चलन रहिआएको कात्तिक नाच समितिका सदस्य सञ्जय राजोपाध्यले बताउनुभयो ।
मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनैपर्छ भन्ने मान्यता रहीआएको पनि राजोपाध्यले बताउनुभयो । मतयाः यात्राको दिन यसमा सहभागी हुनेहरूले पाटनभर छरिएर रहेका १,४०० धार्मिक स्थलहरूको भ्रमण गर्नुपर्ने हुन्छ संस्कृतविद् सत्यमोहन जोशीले जानकारी दिनुभयो ।
यात्राको क्रममा भक्तजनहरूले आफ्नो गच्छेअनुसार चामल, फूल र पैसा चैत्यहरूमा चढाउने गर्दछन् । यात्रामा हिँड्नेहरूमध्ये कसैले परम्परागत बाजा बजाउँछन् भने कसैले मैनबत्ती समाएर हिँड्छन् । अरुहरू चाँहि राक्षसको रूप धारण गरेर पनि यात्रामा सरिक हुन्छन् तर यो वर्ष हुन सकेन ।
संस्कृतविद् जोशीको अनुसार यो यात्राको शुरुवात लिच्छवीकालमा भएको हो । राजा बालचन्द्र देवका छोरा गुण कामदेवले पाटनका १० टोल मङ्गलबजार, चक्रबहिल, इखा छेः, बुबहाल, हउगल, ओकुबाहाल, कोबाहाल, सौगल र नकबहिलका जनतालाई सम्मिलित गरेर यो यात्रा शुरु गरेको मान्यता छ । मतयाःलाई नेकु जात्रा पनि भन्ने गरिन्छ । नेपालभाषा (नेवारी)मा ‘नेकु’ भनेको भैँसीको सिङलाई चिनाउँछ । भैँसीको सिङ बजाएर जाने भएकाले पनि यसलाई नेकु मतयाः भनिएको हो ।
नेपालभाषामा ‘मतः’ को अर्थ बत्ती हुन्छ भने ‘या’ को अर्थ ‘यात्रा’ हुन्छ । नेपाल सम्वतको ‘गुँला’ महिनाको मध्यमा पर्ने हुनाले पनि यसलाई जीवनरुपी यात्राको उच्च विन्दुको उत्सवको रूपमा लिने गरिएको जोशी बताउनुहुन्छ ।