सन्तोष सुवेदी
सिरहा, साउन २४ गते । लहानस्थित ग्लोबल आइएमई बैङ्कको एक कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि स्थानीय प्रशासनले उक्त बैङ्क सिल गरेको छ ।
ग्लोबल आइएमइ बैङ्कका उक्त कर्मचारीलाई केही दिनअघि ज्वरो आएपछि उहाँ आफैँ जनकपुर प्रादेशिक अस्पतालमा परीक्षणका लागि जानुभएको थियो । उक्त परीक्षणको प्रतिवेदन शनिबार पोजिटिभ आएपछि ती कर्मचारीलाई सोही अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।
ग्लोबल आइएमइको लहान शाखाको कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि शनिबार ४ः३० बजे नै उक्त बैङ्क सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिनुभयो । सँगैको कर्मचारीलाई सङ्क्रमण देखिएपछि बैङ्कमा कार्यरत २२ जना कर्मचारी सबैलाई एकै स्थानमा क्वारेन्टाइनमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य संयोजक रामसुन्दर यादवले बताउनुभयो ।
गम्भीर अपराधका पीडितबाहेक अन्यलाई प्रहरी कार्यालयमा निषेध
सिरहाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको लहान कोरोना सङ्क्रमणको उच्च जोखिममा परेको कारण देखाउँदै लहान नगरपालिकाले शुक्रबार राति १२ः०० बजेदेखि बन्दाबन्दी जारी गरेपछि इलाका प्रहरी कार्यालय लहानले सामान्य प्रकृतिका झैझमेला हेर्न छोडेको छ ।
बन्दाबन्दीलाई व्यवस्थित बनाउनुपर्ने र कोरोना सङ्क्रमणका बीच अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने भएका कारण कोरोनाको जोखिमलाई मध्यनजर गर्दै ‘माथिको आदेश’ बमोजिम यस्तो निर्णय गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रनाउ थापा क्षेत्रीले बताउनुभयो ।
‘गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित पीडितहरू आए उनीहरूका लागि प्रहरी कार्यालय जहिले पनि खुला रहन्छ तर खुद्रे र बनावटी मुद्दा लिएर आउनेहरूलाई भने रोक लगाएका छौँ’, प्रनाउ थापाले भन्नुभयो, 'यहाँ वास्तविक घटनाभन्दा पनि प्रहरीको अधिकारक्षेत्रमा नभएको साँध सँधियार र लेनदेनसँग जोडेर बनावटी घटना लिएर आउनेहरू बढी छन्, त्यस्तालाई यस्तो बेला निरुत्साहित गरिएको हो ।'