दिवाकर पोख्रेल
देउखुरी, साउन ३१ गते । गत वर्षको साउन महिनामा दाङ गढवा-७ को मक्नहवा कक्रहवा खोला पस्योे । खोला किनारामा बसोबास गर्नेहरू सुरक्षित हुन छिमेकीको घरमा आश्रय लिए । सिङ्गो गाउँ नै कटान र डुबानको उच्च जोखिममा पर्ने थालेपछि स्थानीयहरू सतर्क हुनथाले । स्थानीय सरकार र प्रहरीलाई तत्काल खबर गरे ।
गाउँपालिकामा बाट अर्को वर्ष तटबन्ध हुने आश्वासन पाए । तटबन्धका लागि नेपाल सरकारको बहुवर्षीय योजना कार्यान्वयन चरणमा थियो । त्यो वर्षको बजेट नआएपछि गाउँका ५२ घर मिलेर रकम सङ्कलन गर्न थाले । सङ्कलित रकमबाट जनताले तटबन्ध कार्यालयमा धाएर पाँच हजार बढी बोराहरू ल्याए । त्यही बोरामा खोलाको गिट्टी भरेर जङ्गलबाट झालासमेत बोकी अस्थायी तटबन्ध गरी गाउँ बचाए । सो कार्यमा सुरक्षा निकायबाट पनि राम्रो साथ पाए । त्यसो त गढवाको वडा नं. ६ र ७ का १२ वटागाउँका बस्ती पनि कक्रहवा खोलाको कटान र डुबानको उच्च जोखिममा थिए । स्थानीय सामाजिक अगुवा हुमाकान्त सुवेदीको पहलमा नेपाल सरकारको बहुवर्षीय योजना सफल भयो ।
सोही योजना बमोजिम कक्रहवा खोला दुवै किनारका अत्तरबेदुवा, झाली, वनकट्टी, रामपुर, हाँसीपुर, दक्षिण मानपुर, उत्तर मानपुर, मक्नहवा, झारबैरा, मनिकापुर, तल्लोमदपुर र उपल्लो मदपुरलगायत एकदर्जन गाउँबस्तीहरू बचाउन तटबन्धको बहुवर्षीय योजना पास भयो र काम सुरु भएपछि सबै गाउँहरू कटानबाट बचेका छन् ।
स्थानीय अगुवा सुवेदीले अत्तरबेदुवा र मनिकापुरदेखि मक्नहवा झारबैरासम्म दुवैतर्फ गरी १२ किलोमिटर बढी खोला तटबन्धको बहुवर्षीय योजना कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यता यस वर्ष सो ठेक्कामा काम गरेका बुद्ध निर्माण सेवा कन्स्ट्रक्सन प्रालिका प्रोपाइटर म्यानेजर रामबाबु चौधरीले तीन किलोमिटर तटबन्धको काम सम्पन्न भएको जानकारी दिनुभयो । यस वर्षको २८ करोडको बजेटमध्ये रकम अभावका कारण डेढ करोड रुपियाँ मात्र भुक्तानी भएको छ ।