गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ४ गते । दलित आन्दोलनका संस्थापक नेता टिआर विश्वकर्माको योगदानलाई दलित आन्दोलनले नै ओझेलमा पारेको सरोकारवालाहरूको गुनासो छ । दलित आन्दोलनले अग्रजहरुको सम्मान र इतिहासलाई सही मूल्याङ्कन गर्न नसकेको पनि चर्चा गरिएको छ ।
राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले स्व. टिआरको ३० औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल विमर्शमा स्व. टिआर दलित आन्दोलनको मात्र नभई नेपाली साहित्य, राजनीति र पत्रकारिताका प्रणेता भएको चर्चा गरिएको छ । नेपाली पत्रकारितामा स्व. टिआर विश्वकर्मा विषयक विमर्श कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार हरिहर विरहीले भन्नुभयो “टिआर विश्वकर्मा नेपाली पत्रकारिताको अग्रणी व्यक्तित्व हो, पत्रकारिताको विकासमा उहाँको ठूलो योगदान छ, मातृभूमि पत्रिकामा उहाँले काम गर्नुहुन्थ्यो, त्यतिबेलै मसँग चिनजान भएको हो, टिआरसँग मलाई गोविन्द वियोगीले चिनजान गराउनुभएको हो ।”
दलित साहित्य तथा संस्कृत प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले नेपालको सामाजिक, राजनीतिक, साहित्य तथा पत्रकारिता क्षेत्रमा टिआर विश्वकर्माको योगदानलाई छाँयामा पारिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “मूलक राजनीतिक व्यक्तित्व हो उहाँ, नेपालको साहित्य त्यसमा पनि दलित साहित्य, दलित आन्दोलनलाई मूलधारमा ल्याउन उहाँको भूमिका छ, तर उहाँको योगदानलाई ओझेलमा पारियो ।”
वरिष्ठ पत्रकार एवम् राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले भन्नुभयो “टिआर विश्वकर्मा नेपाली साहित्य, राजनीतिक, दलित आन्दोलन र पत्रकारिता क्षेत्रले बिर्सन नहुने नाम हो । दलित समुदायबाट पत्रकारिता क्षेत्रमा पहिलो व्यक्तिहरूमध्ये टिआर विश्वकर्मा पनि एक हो । तर टिआर नै पहिलो व्यक्ति हो भन्ने कुरामा थप अध्ययन गर्नुपर्ने लेखक सरोज दिलु विश्वकर्माको भनाइ छ ।
टिआर विश्वकर्मासँगै पत्रकारिता गर्नुभएका सिके गदाल भन्नुहुन्छ ”राजनीतिक व्यक्तित्व भए पनि उहाँ पत्रकार भएर काम गर्नुभयो, सम्पादक हुनुभयो । विस्तारै राजनीतिमा सक्रिय हुनुभएको हो ।
नेता कमला हेमचुरी, वरिष्ठ पत्रकार कसमस विश्वकर्मालगायतले टिआर विश्वकर्माबारे प्रकाश पार्नुभयो । टिआर विश्वकर्माले २०२६ सालमा दलित आवाज मासिक र २०३५ सालमा सञ्जीवनी मासिकको सम्पादक हुनुहुन्थ्यो ।